कृषि

इलाममा चिया जस्तै आम्दानिको श्रोत बन्दै कफीखेती

इलाम। झापा विर्तामोडका भोजराज श्रेष्ठ माओवादी सशस्त्र द्वन्द्वकालका लडाकू हुन् । करीब दुई वर्ष लडाकू भएर काम गरेका भोजराजलाई सरकार–माओवादी शान्ति सम्झौतापछि फेरि सेना–प्रहरीमा जागीर खान खासै मन भएन ।

त्यसपछि झापाको विर्तामोडमै केही समय सानोतिनो पसल गरेर बसे । त्यसबाट पनि खासै राम्रो आम्दानी हुन नसकेपछि आम्दानी हुने बाटो रोज्नु पर्ने बाध्यता आइलाग्यो । गाउँघरमा रहेर त्यति साहै्र काम नगरेका भोजराजलाई यसै गर्दा सम्पत्ति कमाइएला भन्ने पत्तो थिएन । एकदिन भोजराजकै एक साथीसँग भेट भयो र कफीखेती गर्ने सल्लाह आयो । कफीबाट राम्रो हुने त उनले बुझे तर, झापा जस्तो गर्मी क्षेत्रमा कफीखेती गर्ने कुरा आएन ।

गाउँघरका अरू केही व्यक्तिलाई सोध्दा कफीका लागि इलाम जिल्ला उचित हुने बुझे । सबै घरजग्गा झापातिरै रहेका श्रेष्ठलाई शुरुमा कुन ठाउँमा गएर कफीखेती गर्ने भन्ने निर्णय लिन गा¥हो भयो तर पनि, लामो सोचविचार पछि आफ्नो पुख्र्यौली घर रहेको इलामस्थित इलाम नगरपालिकाको गोदकमा ठेक्कामा जग्गा लिने र कफीखेती शुरु गर्ने निछोडमा पुगे ।

जग्गा लिजमा लिन पनि सहज थिएन । सबै सजिलो र गुणस्तरीय खोज्दै पहाडबाट तराई झरिरहेका बेला एक्ला भोजराजलाई पनि पहाड गएर केही गरिएला भन्ने खासै लागेको थिएन । धेरैले पहाड जानभन्दा झापातिरै केही गर्न आग्रह पनि गरे तर पनि, भोजराजले हिम्मत हारेनन् ।

इलाम आएर अरू साथीहरूसँग पनि सरसल्लाह लिएर सामूहिक रूपमा कफीखेती गर्न अनुरोध गरे । चिया मात्र खेती हुने बुझेका धेरैले इलाममा कफीखेती पनि हुन्छ भन्ने कुरा पत्याएनन् । केही साथीभाइ मिलेर २० रोपनी जग्गामा कफी खेती शुरु गरे । यही बगानबाट यस वषै भोजराजले करीब दुई हजार बिरुवा बेचे ।

उनी भन्छन् – “यस वर्ष बिरुवा मात्र बेचियो । अर्को वर्षदेखि फल पनि बिक्ने हुन्छ ।” गोदकमा लगाएको कफीखेती खासै नफस्टाएपछि उनी यसलाई सारेर रोङ गाउँपालिकाको सलकपुरमा सार्ने योजनामा छन् भने अन्य दुई ठाउँमा पनि खेती विस्तार गरेका छन् । भोजराजले यसै वर्ष मात्रै पनि इलाम नगरपालिकास्थित बरबोटे र सुम्बेकमा खेती गर्ने योजना बनाएका छन् ।

यस्तै, इलाम नगरपालिका वडा नं ८ सिङफ्रिङका नरेश श्रेष्ठले पनि अहिले कफीखेती शुरु गरेका छन् । आफू मात्र नभई अन्य साथीको सहयोगबाट कफी कम्पनी नै खोलेर आफैं बिरुवा उत्पादन गर्दै नरेशले खेती शुरु गरेका हुन् ।

खेती केही वर्षदेखि नै शुरु गरेको भए पनि कफीका बारेमा प्राविधिक ज्ञान नभएकाले उनले राम्रो उत्पादन लिन सकेका भने थिएनन् । आलु, मकैलगायतका पराम्परात खेती गरिरहेका नरेशले अहिले कफीखेतीबाटै आम्दानी लिने गरी खेतीमा लागेका छन् । “धेरै लगानी डुबिसक्यो, राम्रै आम्दानी हुन्छ भन्ने आशमा छु,” नरेशले भने । कफीखेतीका लागि नरेशसहित उनका कम्पनीका साथीहरुले अहिलेसम्ममा करीब ७०÷८० लाख रुपैयाँ लगानी भइसकेको छ । “पहिले पनि खेती त गरेका थियौं तर, बिरुवा कमसल परेकाले उत्पादन लिन सकिएन,” नरेशले भने – “अर्को वर्षदेखि भने फल बेच्न सकिन्छ ।”

नेपाली अर्गानिक कफी प्रालि नामको कफी कम्पनीको नरेश कोषाध्यक्ष हुन् । अहिले कम्पनीका सदस्यले कफीमा मिहिनेत गर्न नसक्ने भएपछि भने खेती गर्नका लागि कामदार राखेका छन् । “खटाइ धेरै पर्छ, हामी सबैको आ–आफ्नो छुट्टै अर्को पनि पेशा भएकाले काम गर्न भने कामदार राखेका हौँ,” नरेशले भने ।

खेती मात्र नभई कफीको बिक्रीमा पनि राम्रो आम्दानी हुने भएपछि अहिले धेरैले यो व्यवसाय शुरु गरेका छन् ।

तालीम तथा दक्ष जनशक्ति भएमा खेती गर्न सहज हुने अर्का कफी किसान दीप लामाको भनाइ छ । सूर्योदय नगरपालिकाको ‘फिक्कल टी एण्ड कफी कम्पनी’ खोलेका लामाले कफी खेती मात्र नभई प्रशोधन समेत गर्ने गरेका छन् ।

उनले यहाँ कफीको प्रशोधन गरेर काठमाडौँंमा बेच्ने गरेको छ । यी माथिका किसान त उदाहरण मात्र हुन् । अहिले धेरैले जिल्लामा कफीको व्यावसायिक खेती शुरु गरिसकेका छन् । चियाको जिल्ला भनेर चिनिने इलामको वातावरण कफीका लागि पनि उचित हुने भएकाले कफीको व्यावसायिक खेती शुरु भएको हो ।

पछिल्लो समयमा कफी खेती गर्दा सरकारीस्तरबाट समेत केही अनुदान र सहुलियत प्राप्त हुन्छ । यही कारण पनि धेरैले यो खेतीबाट लाभ उठाएका छन् ।

कफी खेती समुद्री सतहदेखि ८०० – १,६०० मिटर सम्मको उचाइमा खेती हुने गर्छ । त्यही भएर पनि इलाम कफीका लागि उत्कृष्ट खेतीयोग्य जिल्लामा पर्दछ ।

एक तथ्याङ्कका अनुसार इलाम जिल्ला प्रदेश नं १ कै उत्कृष्ट खेती हुने जिल्लामा पर्दछ । यस प्रदेशको ३४ दशमलव ७ हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेकामा १० दशमलव ३ प्रतिशत हेक्टर क्षेत्रफलमा भने इलाममै खेती हुने गरेको छ ।

तथ्याङ्क विभागले गरेको सर्वेक्षण अनुसार इलाममा २३६ फार्म सङ्ख्या छन् भने ६७ हजार ४५७ फल लाग्ने उमेर भएका बिरुवा रहेको देखिन्छ । सर्वेक्षणका अनुसार प्रदेश १ को १० जिल्लामा ५६९ किसानले व्यावसायिक कफीखेती गरेका छन् । विभागले ५० बोटभन्दा बढी कफी बोट लगाएर खेती थालेका किसानलाई मात्रै सर्वेक्षणमा समावेश गरेको छ । “व्यावसायिक कफीखेतीको सर्वेक्षण भएकाले ५० बोटभन्दा कम हुनेको तथ्याङ्क लिइएको छैन,” केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले भने – “तथ्याङ्क सङ्कलनको काम २०७४ मा भएकाले त्यसयता खेती थालेका किसान छुटेका छन् ।”

प्रदेश १ को १२० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । त्यसमध्ये इलाममा ४३ हेक्टरमा व्यावसायिक रूपमा खेती गरिएको छ । प्रदेश १ मा एक लाख तीन हजार ६६१ किलोग्राम ‘फ्रेस चेरी’ उत्पादन हुने गरेको छ । कफीको बोक्रा पेलेर फ्याँकेपछिको भित्री भाग चेरी हो ।

इलाममा वार्षिक ४२ हजार ६४९ फ्रेस चेरी उत्पादन हुने गरेको छ । इलाममा पछिल्लोपटक कम्पनीमार्फत ठूलो क्षेत्रफलमा कफी लगाउन थालिएको छ । सूर्योदय नगरपालिकामा ४०० रोपनीमा कफी लगाइँदैछ । इलाम नगरपालिका, देउमाईको जीतपुर, गजुरमुखीलगायतका ठाउँमा ठूलो क्षेत्रफलमा कफीखेती थालिएको छ । प्रदेश १ को तेह्रथुममा १६६ किसानले १६ हेक्टर क्षेत्रफलमा कफी खेती गरेका छन् ।

पाँचथरमा १३ हेक्टर, उदयपुरमा तीन दशमलव पाँच, खोटाङमा पाँच हेक्टर, ताप्लेजुङमा चार हेक्टर, भोजपुरमा १७ हेक्टर, सङ्खुवासभामा नौ हेक्टर, ओखलढुङ्गामा एक हेक्टर, धनकुटामा छ हेक्टरमा कफी खेती हुने गरेको छ । सर्वेक्षणअनुसार नेपालको ३२ जिल्लामा कफीखेती भइरहेको छ ।

कफीका लागि प्रख्यात जिल्ला गुल्मी मानिए पनि उत्पादन भने काभ्रेपलाञ्चोकमा बढी हुने गरेको छ । तथ्याङ्कका अनुसार काभ्रेपलाञ्चोकमा मात्र ६५ दशमलव ५ प्रतिशत हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेको छ । मुलुकभरमा जम्मा ५०९ दशमलव नौ हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेको छ । व्यावसायिक कफीखेती सर्वेक्षण २०७५÷७६ अनुसार नेपालमा ६ हजार ३४६ वटा कफी उत्पादन गर्ने कृषि फार्म सञ्चालनमा छन् । देशभरमा ९७३ हेक्टरमा जमीनमा व्यावसायिक कफीखेती गरिएको छ भने करीब १५ लाख ५ हजार कफीका बोटहरु रोपिएका छन् ।

अध्ययन अवधिमा ८ लाख २१ हजार कफीको बोटबाट फल उत्पादन भइरहेको छ । सरदर वार्षिक रूपमा अध्ययन अवधिभर नेपालमा १५ लाख ७३ हजार किलोग्राम कफीको कच्चा दाना (फ्रेस चेरी) उत्पादन हुने गरेको छ ।