कृषि

एशियाली देशहरुमा कृषि बजार विचौलियाको कब्जामा

काठमाडौं । अन्तर्राष्ट्रि युवा दिवसको अवसरमा काठमाडौमा आयोजित एशियन कृषि समिट तथा प्रर्दशनी सकिएको छ । १५ बुँदे काठमाडौं कृषि घोषणा पत्र जारी गर्दै समिटको समापन भएको संयोजक लोकराज अवस्थीले जनाएका छन् । कार्यक्रममा भारत, चीन, इण्डोनेसिया, बेलायत लगायतका ७ ओटा देशका सहभागीले भाग लिएका थिए ।

जारी घोषणा पत्रमा कृषि शिक्षा, कृषिको बजारीकरण, कृषि उत्पादन तथा कृषि उद्यमशलिता गरी चार भागमा बाडेर १५ बुँदामा समेटिएको छ । नेपाल लगायतका एशियान देशहरुमा कृषि शिक्षा व्यवहारिका भन्दा सैद्धान्तिक बढी भएकाले युवाहरु बेरोजगार बढेको घोषणा पत्रमा उल्लेख छ । कृषिलाई आधुनिकीकरण, व्यसायीकरण तथा सम्मानित पेशाको रुपमा अबलम्बन गर्न उचित कार्यक्रम बनाउन सरकासँग माग गरिएको छ ।

कृषि उत्पादनसँगै बजारीकरणको समस्या देखिनुमा सरकारहरुले लिएका नीति नै मुख्य जिम्मेवार भएको रहेको जनाइएको छ । सरकारले बनाएका नीति किसान तथा व्यवसायीमैत्री नभएकोले उत्पादनमा कमी र बजारीकरणमा समस्या आएको उल्लेख छ ।

नेपाल लगायतका कम विकसित देशहरुमा कृषि बजार विचौलिया तथा दलालको कब्जामा रहेको उल्लेख छ । तर सरकारले उचित पहल नगर्दा कसानहरु मारमा परेको जनाइएको छ । नेपाल भारत लगायतका देशहरुमा कृषिमा हानीकारक विषादी प्रयोगसँगै उपभोक्ताको स्वास्थ्यमा असर बढ्दो भएकाले सरकारलाई उचित कदम चाल्न आह्वान गरिएको छ ।

कृषिमा युवा सहभागितामा बढावा ल्याउनका लागि सरकारले उचित नीति, कार्यक्रम तथा लगानी गर्न सबै सरकारसँग आग्रह गरिएको छ । घोषणा पत्रमा कृषि उत्पादन, बजारीकरण र उद्यमशीलतामा लगानी गर्न सरकार, नीजि कम्पनि, दातृ निकाय, संयुक्त राष्ट्र संघ लगायतका सरोकारवालाई निकायलाई आह्वान गरेको छ ।

सँगै समिटको अन्तिम दिन कृषि योगा, नेतृत्व विकास लगाएतका कार्यक्रमहरु संचालन भएका थिए । भारत, चीन, बेलायत, इण्डोनेसिया, नेपाल लगायतका कृषि उद्यमीहरुले अनुभव आदना प्रदान समेत गरेको थिए । समित एक सय जना कृषक उद्यमीको सहभागिता रहेको आयोजकले जनाएका छन् ।