गण्डकी प्रदेश

सडक र बत्तीले स्थानीयवासीको जीवनस्तर बदलियो

दमौली । पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गमा पर्ने साराङघाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो । गाउँमा न बिजुली थियो न सडक नै । सदरमुकाम दमौली आउनुपरेको खण्डमा घुमाउनेमा रहेको झोलुङ्गेपुल तरेर चितवन हुँदै दमौली आउनुपर्ने बाध्यता पनि उत्तिकै ।

सदरमुकामबाट नजिकै रहेर पनि तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाट बत्तीमुनिको अँध्यारो जस्तै थियो । स्थानीयवासी लालबहादुर राना केही वर्षअघिको सम्झना गर्दै भन्छन्, “गाउँमा न बिजुली थियो न सडक नै । जसले गर्दा स्थानीयवासीको दैनिक नै फरक थियो । अहिले सडक र बत्ती आएसँगै जीवनस्तर बदलिन थालेको छ ।”

भनाइ नै छ, “विकासको पहिलो पूर्वाधार भनेकै सडक हो । लालबहादुर रानालाई समेत सडकले गर्दा आफ्नो ठाउँ विकासको गतिमा हिँडेको अनुभूति भएको छ । सडक पुगेपछि विकासका सबै पूर्वाधार पनि सँगसँगै पुग्छ । यो भनाइलाई दमौलीबाट चितवनको घुमाउने जोड्ने बुद्धसिंह मार्गले पुष्टि गरेको छ । केही वर्षअघिसम्म बुद्धसिंह मार्गको किनारका बस्ती उजाड थिए तर अहिले उक्त बस्तीमा व्यापारिक चहलपहल बढेको छ । यसको मुख्य कारण भनेकै बुद्धसिंह मार्गमा यातायात सञ्चालन हुनु हो ।

पोखरा र दमौलीलाई नारायणगढ जोड्ने वैकल्पिक सडकका रुपमा विस्तार गरिएको बुद्धसिंह मार्गमा यातायात सञ्चालन शुरु भएपछि सडक क्षेत्रमा पर्ने साना बस्ती अहिले बजार बनेका छन् । यो सडकअन्तर्गत पर्ने सबैभन्दा ठूलो बजार सराङघाट हो । सदरमुकाम दमौली मात्र नभई बन्दीपुर, पोखरा र नारायणगढबाट समेत यहाँ घडेरी किन्न मान्छे आउन थालेको होटल व्यवसायीसमेत रहनुभएका राना बताउछन् ।

सडक किनाराका अधिकांश जग्गा अहिले साना घडेरीमा परिणत भएका छन् । सेतीमादी नदीको किनारको अवस्थित यस ठाउँमा दुई वर्षअघि रोपनीको रु ८÷१० लाख पर्ने जग्गाको भाउ अहिले रोपनीको रु ५० लाख पुगेको छ ।

बुद्धसिंह मार्गमा हाल दमौलीबाट दैनिक छ÷सात वटा बस र त्यत्तिकै सङ्ख्यामा जीप चल्ने गर्छन् । उक्त सवारी साधन आँबुखैरनी गाउँपालिका वडा नं ६ को घुमाउनेसम्म पुगेर पुनःदमौलीतर्फ नै फर्कन्छन् । घुमाउनेमा मोटरेवल पुल निर्माण नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

सडकको विस्तारसँगै सराङघाटमा होटल, किराना पसल र फेन्सी पसल सञ्चालनमा आएका छन् । गत महीना मात्रै उक्त स्थानमा विद्युत् सेवासमेत विस्तार भएको छ । विद्युत् सेवा पुगेसँगै विद्युतीय उपकरणका पसल पनि सञ्चालनमा आएको स्थानीयवासी भीमबहादुर गुरुङ बताउछन् । उनका अनुसार सराङघाटमा अहिले भौतिक निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ । आरसिसी पक्की घर बन्नेक्रम शुरु भएको छ ।

यातायातको सहजताले सामान खरीदका लागि सजिलो भएको गुरुङ बताउनुहुन्छ । सामान खरीदका लागि यहाँका व्यवसायी सदरमुकाम दमौली आउने भए पनि उच्च शिक्षा अध्ययन र औषधि उपचारका लागि भने चितवनको नारायणगढ र भरतपुर जाने गर्छन् । अहिले सराङघाटबाट दमौली आउन र नारायणगढ जान एक घण्टामा सजिलै पुग्न सकिने गुरुङले बताए ।

बुद्धसिंह मार्ग हुँदै नारायणगढ जान हाल भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा करीब २३ किमी छोटो पर्छ । दमौलीबाट मुग्लिङसम्म ४१ किमी र मुग्लिङबाट घुमाउनेसम्म थप १४ किमी दूरी पर्छ । तर बुद्धसिंह मार्गबाट घुमाउनेसम्म ३२ किमी दूरी पर्छ ।

अहिले घुमाउनेमा मोटरेवल पुल नहुँदा यात्रु तनहुँको क्षेत्रमै झरेर झोलुङ्गे पुल तरी मुग्लिङ नारायणगढ सडकमा गई त्यहाँबाट अर्को गाडीमा चढ्नुपर्ने बाध्यतामा छन् । घुमाउनेमा मोटरेवल पुल निर्माणको लागि टेन्डर भइसकेपनि केही प्राविधिक पक्षका कारण पुल निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय तनहुँका प्रमुख विष्णु काफ्लेले बताए ।

उनका अनुसार बुद्धसिंह मार्गको स्तरोन्नतिका लागि बहुवर्षीय योजनाअन्तर्गत रु १० करोड विनियोजन भएको हुँदा अब पुल निर्माण र सडक स्तरोन्नति तथा कालोपत्रको काम पनि सँगसँगै अगाडि बढाइनेछ ।

पुल निर्माण सम्पन्न भएपछि सराङघाटलगायत बुद्धसिंह मार्गमा पर्ने साना बजार लाब्दी खोला, नाल्दी, मास्दीघाट, खहरे, हात्तीसोढे र कोइदिमको रुप नै फेरिने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । मोटरेवल पुल निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने भन्दै उनले यस कार्यमा जिल्लाका सबै जनप्रतिनिधिले ध्यानाकर्षण गराउनुपर्ने बताए ।