समाचार

विद्युतीय सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिन रेडियो सञ्चालकको माग

पर्वत । विद्युतीय सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिन र विद्युत् महसुलमा सहुलियत दिन पर्वतका रेडियोका सञ्चालकहरुले माग गरेका छन् । जिल्लामा सञ्चालित सात रेडियोका सञ्चालकले जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण शाखामार्फत नेपाल विद्युत् प्राधिकरण महसुल निर्धारण आयोग काठमाडौँ समक्ष महसुलमा सहुलियतको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

विद्युतीय सञ्चारमाध्यम सेवामूलक उद्योगको रुपमा स्थापित भई नागरिकहरुलाई सूचना दिन र ठूलो सङ्ख्यामा रोजगारीको अवसर दिइरहेकाले राज्यले सञ्चारमाध्यमलाई सहुलियत दिनुपर्ने उनीहरुको माग थियो । विद्युत् उपभोग गरेवापत प्रतियुनिट रु १२ का दरले महसुल तिर्दै आएका रेडियो स्टेशनहरुले उद्योगसरह महसुल कायम गरी राहात दिन सरकारको ध्यानाकर्षण गराएको बताए ।

पञ्चासे एफएम, रेडियो शालिग्राम, रेडियो सत्यवाणी, रेडियो पर्वत, रेडियो दिदीबहिनी, रेडियो कुसुम, र रेडियो समृद्ध नेपालका रेडियोका अध्यक्ष र स्टेशन म्यानेजरहरुले संयुक्तरूपमा हस्ताक्षर गरी ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र विद्युत् वितरण केन्द्रका भोजराज बराललाई बझाएका हुन् ।

उक्त माग कार्यान्वयन भए मासिकरूपमा ठूलो रकम रेडियोका लागि बचत हुने भएको छ । अहिले उद्योग प्रतिष्ठानलाई प्राधिकरणले सात रुपैयाँ २० पैसामा विद्युत् उपलब्ध गराउँदै आएको छ । नेपालमै पहिलोपटक पर्वतबाट यस्तो माग गरिएको र यो माग सम्बोधन भएमा मुलुकभरका विद्युतीय सञ्चारमाध्यम लाभान्वित हुने पञ्चासे एफएमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटाले बताए ।

साथै यसमा दबाब सिर्जना गर्न सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराव र व्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल बानलाई पनि अनुरोध गरिएको रेडियो सत्यवाणीका अध्यक्ष हरि न्यौपानेले जानकारी दिए ।