खेलकुद

नेपाल र अफगानिस्तानले आज दोस्रो पल्ट भिड्दैः कस्ले मार्ला त बाजाी ?

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले आज (बिहिबार) अफगानिस्तानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । खेल नेपाली समय अनुसार ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा जित निकालेको नेपाल दोस्रो खेलमा पनि जितको लक्ष्यसहित कोर्टमा उत्रने छ । यता, अफगानिस्तान पहिलो जित निकाल्ने योजनामा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हराएको थियो ।

घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको लागि मुख्य प्रशिक्षक हान एबिङले १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।