साहित्य

९७ वर्षको उमेरमा अस्ताए वरिष्ठ साहित्यकार दीक्षित

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनका का नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

यसैबीच प्रधानमन्त्री केपि शर्मा ओलीले वरिष्ठ साहित्य दिक्षीतको निधनले मर्माहत भएको बताएका छन् । नेपाली वाङ्मय क्षेत्रले उनको योगदानलाई सदा स्मरण गर्ने ओलीले बताएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत ओलीले दीक्षित प्रति भावपूर्ण श्रद्धञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।