लुम्बिनी

विकाश संगै विनासः सडक विस्तारले चार हजार खानेपानीका धारा प्रभावित

कावासोती । नारायणगढ–बुटवल सडक चार लेन विस्तारका क्रममा नवलपुरमा खानेपानीका चार हजार बढी धारा प्रभावित हुने भएका छन् । सडक विस्तारका क्रममा नवलपुरको गैँडाकोटदेखि दुम्कीबाससम्म चार हजार दुई धारा प्रभावित हुने आयोजना प्रभावित समन्वय समितिका संयोजक एवं प्रगतिनगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताएका छन् ।

सडक विस्तारका क्रममा पानी वितरणमा प्रभाव पर्ने घरधुरी दुई हजार ५०० र ५७ हजार ६४० मिटर पाइपलाइनमा क्षति पुग्ने अनुमान गरिएको भुसालले बताए । नारायणगढ–बुटवल चार लेन सडक विस्तार हुँदा नवलपुर जिल्लाको राजमार्ग दायाँबायाँ रहेका १९ वटा खानेपानी आयोजना प्रभावित हुने संयोजक भुसालले बताएका छन् ।

उन्नाइसवटै खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नोआफ्नो अनुमानित क्षति आफैँले निकालेका छन् । उन्नाइसवटै आयोजनाको गरेर रु नौ करोड ९२ लाख ७२ हजार ३४ बराबरको अनुमानित क्षति हुने संयोजक भुसालले जानकारी दिएका छन् ।

सबैभन्दा बढी मुकुन्दपुर खानेपानी आयोजनाको रु दुई करोड ८२ लाख ९२ हजार ६९८ अनुमानित क्षति निकालिएको छ भने त्यसपछि कावासोती खानेपानीको रु दुई करोड ६७ लाख एक हजार ४२१ क्षति तथ्याङ्क निकालिएको छ । क्षतिपूर्ति दिने कुरा आए पनि उपभोक्तालाई हुने क्षतिका बारेमा आयोजनाका तर्फबाट कुनै कुरा नआएकाले उपभोक्तालाई पुग्ने क्षतिसमेत व्यहोर्नुपर्ने माग राखेको भुुसालले जानकारी दिए ।

खानेपानी जस्तो अत्यावश्यकीय वस्तुका विषयमा सडक आयोजनाको तर्फबाट छिटोभन्दा छिटो यकिन क्षतिको विवरण निकालेर क्षतिपूर्ति उपलब्ध गराएमा समस्याको समाधान खोजिने कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भीमलाल कँडेलले बताएका छन् ।

सडक विस्तारका क्रममा नवलपुरको राजमार्ग आसपासका प्रगतिनगर, दिब्यपुरी, कावासोती, तम्सरिया, अरुण खोला, अग्यौली, रजहर, विजयनगर, कुढौली, नयाँ बेल्हानी, तमासपुर, अमरापुरी, कुसुण्डे, दुम्कीबास, आँपचौर, गैँडाकोटका खानीपानी संरचनामा क्षति पुग्ने जनाइएको छ ।

खानेपानी आयोजनामा सडक विस्तार योजनाले पार्ने प्रभावको सडक आयोजनाको तर्फबाट सर्वेक्षण गरिएको छ । आयोजनाका तर्फबाट नारायणगढ–बुटवल चार लेन सडक विस्तारका क्रममा नवलपुर जिल्लाको सडकको दुवै किनारमा रहेका खानेपानी आयोजनाको पाइपलाइनको सडक आयोजनाले अध्ययन गरिसकिएको छ ।

सर्वेक्षणको प्रतिवेदन सङ्कलन गरेर कार्यालयमा पठाउने तयारी गरिएको कँडेलले बताएका छन् । ती प्रतिवेदन केलाएर के–कति क्षति हुने, त्यसको क्षतिपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने कुरा माथिल्लो निकायले गर्ने भएकाले पूरा विवरण आउन अझै केही समय लाग्ने कँडेलले बताए ।

सडकको दायाँबायाँ केन्द्रबिन्दुबाट पाइपलाई कति मिटरको दूरीमा छ, कालोपत्र गर्ने भागमा पर्छ या पैदलयात्रु हिँड्ने मार्गमा पर्छ भन्ने कुराको निक्र्योल गर्न सर्वेक्षण भएको कँडेलले जानकारी दिए । सर्वेक्षणका क्रममा सबैभन्दा नजिक गैँडाकोट क्षेत्रमा केन्द्रबिन्दुबाट सात मिटरको दूरीमा नै पाइपलाइन रहेको पाइएको र अन्य स्थानमा १५ देखि २३ मिटरको दूरीमा पाइपलाइन रहेको पाइएको कँडेलले बताएका हुन् ।