समाचार

कार्यकर्ताको मनोबल बढाउन जिल्ला जानुपर्छः थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताको मनोबल उच्च राख्न देशभर सघन रूपमा प्रशिक्षण सञ्चालन गर्न केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएका छन् ।

केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै थापाले अहिले मुलुकको अवस्था विषम परिस्थितिबाट गुज्रिरहेकोले तरल अवस्थाबारे कार्यकर्तालाई जगाउनु र सचेत गराउनु आवश्यक भएको विचार व्यक्त गरेका हुन् ।

थापाले प्रशिक्षकलाई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै देशदौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकलाई दृढ भएर प्रस्तुत हुन जोड दिएका छन् । थापाले राप्रपा परिवर्तन विरोधी शक्ति नभएको स्पष्ट पारे । राप्रपा राष्ट्रवादी शक्ति हो, प्रजातन्त्रबादी शक्ति हो भन्दै थापाले निरन्तरतासहितको परिवर्तन मात्र टिकाउ हुने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता दीपक बोहरा, महामन्त्रीद्वय राजेन्द्र लिङ्देन र भाष्कर भद्रा, प्रशिक्षण विभाग प्रमुख भुवन पाठकलगायतको उपस्थिति थियो । भदौ महीनामा ७७ जिल्लामा र असोज महीनामा ७५३ स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्. ।