समाचार

प्रहरी भन्छन् ‘मुख्यमन्त्रीलाई लक्षितगरी बम पड्काइएको कुरा अफवाह हो’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षितगरी बम पड्काइएको भन्ने कुरा हल्ला मात्र भएको प्रहरीले जनाएको छ ।

पचालझरना गाउँपालिकाको विशेष गाउँसभालाई सम्बोधन गर्न आज त्यहाँ पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेत्रबिक्रम चन्द समूहले बम पड्कायो भन्ने कुराको अफवाह मात्र भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

“बम पड्केको हामीले थाहा नै पाएनौं,” शर्माले भने, “खै कसले बम पड्केको कुरा गर्‍यो, उनैले जानुन् ।” आफू अहिले मुख्यमन्त्रीसँगै भएको जनाउँदै उनले पचालझरनाको विशेष गाउँसभा सम्पन्न गरेर सदरमुकाम आउनका लागि हिँडिरहेको बताए ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले शान्तिपूर्ण तवरबाट कार्यक्रम सकेर फर्किएका र बिहीबार रास्कोट नगरपालिकाको नमूना विद्यालय उद्घाटन गर्ने कार्यतालिका रहेको जानकारी दिए।