समाचार

सगरमाथा आरोहीको मृत्यु लेक लागेर भएको हो, जामले होईन: छानबिन समिति

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा आरोहीको मृत्यु जामका कारण नभइ लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा सगरमाथा आरोहणको क्रममा आरोहीको भीड लागेर नभइ प्रतिकूल मौसम र लेक लाग्ने ‘हाइअल्टिच्यूट’ भएर पनि कतिपय आरोहीको मृत्यु भएको निष्कर्ष निकालिएको छ ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई समितिका संयोजक घनश्याम उपाध्यायसहितको टोलीले प्रतिवेदन बुझाएको हो । सगरमाथामा आरोहण अनुमति धेरै दिएको र आरोहीको जामले केही आरोहीको मृत्यु भएको भन्दै विश्वभर नकारात्मक समाचार सम्प्रेषण भएको थियो । सगरमाथामा आरोहणमा आरोहीको भीड लागेको फोटो सञ्चारमाध्यममा आएका थिए ।

समितिका संयोजक उपाध्यायले मिडियामा आएजस्तो आरोहीको निधन जामले नभइ आरोहण क्रममा लामो समय पर्खनुपर्ने बाध्यता तथा आरोहीको शारीरिक अवस्थाका कारण मृत्यु भएको उल्लेख गरे ।

आरोहणका विषयमा आएको अन्योलताबारे सत्य तथ्य पत्ता लगाउन सरकारले गत जेठ २४ गते पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष सन्तवीर लामा, ट्रेकिङ एजेन्सीज एशोसिएशन आफ नोपाल (टान) का अध्यक्ष नवराज दाहाल र पर्यटन विभागका निर्देशक मीरा आचार्य सदस्य सचिव थिए ।

सन् २०१९ को वसन्त ऋतुको मे २२ र २३ मा मौसम सुधार भएपछि धेरै आरोही एउटै सयमा सगरमाथाको चुचुरोमा जान चाहेकाले लामो समय बाटोमा पर्खनु परेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथासहितका विभिन हिमालमा ९६१ जनाले आरोहण गरेका थिए । जसमा १५ जनाको मृत्यु भएको थियो । सगरमाथा हिमालको मात्रै ३६४ जनाले आरोण गरेका थिए । सगरमाथा आरोहण क्रममा आठ जनाको मृत्यु भएको थियो । त्यस क्रममा बेपत्ता भएका आयरल्याण्डका एक आरोही अझै फेला परेका छैनन् ।

सगरमाथासहित सम्पूर्ण हिमाल आरोहणको विगत पाँच वर्षको आँकडा हेर्दा सन् २०१५ मा २१, सन् २०१६ मा १२, सन् २०१७ मा ९, सन् २०१८ मा २५ र सन् २०१९ मा १७ (पछिल्लो विवरणसहित) मृत्यु भएको जनाइएको छ । ५९ पृष्ठको प्रतिवेदनमा समितिले दीर्घकालमा पर्वतीय पर्यटनमा गर्नुपर्ने कामको विषयमा १२ पृष्ठ लामो सुझाव दिएको छ ।

समितिले सम्पर्क अधिकृतको विषयमा पनि टिमनै गएर बेसक्याम्पमा जानुपर्ने समेत सुझाव दिएको छ । सगरमाथाको आरोहणमा आगामी दिनमा एकै समयमा आरोहणको अत्यधिक चाप पर्न नदिन डोरी टाँग्ने कार्यलाई समयमै व्यवस्थित गर्नुपर्ने, मौसमी प्रणालीको भरपर्दो सुधार तथा आरोहणको योजनाबद्ध कार्यतालिका बनाउनुपर्ने प्रतिवेदनमा सुझाइएको छ ।

हिमाल आरोहणको मापदण्डका आधारमा दक्ष र सक्षम आरोहीको आरोहण र सम्पर्क अधिकृत दक्ष र व्यवसायी राख्न सुझाव दिइएको छ । सुझाव कार्यान्वयनमा आएकाले आगामी सिजनदेखि उपससचिवको नेतृत्वमा आधारशिविरमा सेना र प्रहरीसहितको टोली उद्धारका लागि खटिनेछ । उनीहरु आरोहण अवधिभर बस्नुपर्नेछ । गत सिजनमा ७५ जना सम्पर्क अधिकृत खटिएका थिए । जसमा २२ जना मात्रै आधार शिविरमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

सो अवसरमा पर्यटनमन्त्री अधिकारीले मौसमी प्रतिकूलताले एकै दिनमा धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्नुपर्ने अवस्थाले आरोहीको मृत्यु भएको विषयलाई अन्यथा ढङ्गले प्रचार गरिनु अनुपयुक्त भएको उल्लेख गरे । उनले समितिले निकै मेहनतकासाथ ल्याएको प्रतिवेदनको सुझावलाई योजनाबद्ध कार्यान्वयनमा लैजाने बताए । सगरमाथासहितका हिमाल आरोहणको मापदण्डलाई कडाइका साथ लागू गरिने मन्त्री भट्टराईको भनाइ थियो ।

उनले भने, “सगरमाथा आरोहण चाहना र रहरले मात्र हुँदैन, आरोहणमा जाने व्यक्ति सम्पूर्ण हिसाबले उपयुक्त छकी छैन । हिमाल चढ्ने आरोहीको पनि मेडिकल रिपोर्ड हुनुपर्छ, उ (आरोही) शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनुपर्छ या कुनै औषधि प्रयोग गरेको आदि सबै रिपोर्ट हेरेर मात्रै आरोहण अनुमति दिनुपर्छ ।”

पर्यटनमन्त्री भट्टराईले नेपालको सगरमाथासहितका हिमाल सुरक्षित रहेको सन्देश विश्व समुदायलाई दिन चाहेको उल्लेख गर्दै सरोकारवाला निकायको समन्वयमा आरोहणलाई थप व्यवस्थित र गुणस्तरीय बनाइने उल्लेख गरे । उनले सगरमाथा आरोहण सामान्य मानिसले नभइ असाधारण मानिसले मात्र गर्नसक्ने भएकाले उनीहरु राष्ट्रका गहना हुन् भन्दै उनीहरुलाई राज्यको तर्फबाट विभिन्न प्रकारको सम्मान गरिने बताए ।

“आरोहीलाई विभिन्न तरिकाले सम्मान गर्न सकिन्छ । विगतमा पनि आरोहीलाई विभिन्न अवार्ड दिने गरिएको छ । अब, हामी एउटा नियम बनाउँछौँ, कति पटक सगरमाथा चढेकालाई के–कस्ता सुविधा सरकारले दिने भनेर, अवार्ड, रोजगारीको अवसर, सद्भावनादूत, आरोहण स्कुल सञ्चालनको जिम्मेवारीलगायतका प्याकेज हामी ल्याउछौँ,” मन्त्री भट्टराईले भने ।

उनले सगरमाथा आरोहणबारे भएका अन्योतालाई चिर्नेगरी आएको समितिको प्रतिवेदनको निष्कर्षले नेपाल भ्रमण वर्ष अभियानलाई सफल पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले देश तथा विदेशमा अभियानको प्रभावकारी प्रचारप्रसार गरिने बताए।