समाचार

११ वटा वडा कार्यालयमा चोरी गर्ने व्यक्ति सार्वजनिक

पोखरा । पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालय फोरी चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको छ ।

झण्डै एक वर्षयता श्रृंखलाबद्धरुपमा भएका वडा कार्यालयमा चोरीमा संलग्न भएको आरोमा प्रहरीले काठमाडौँ महानगरपालिका–११ घर भई पोखरा–१० रामबजार डेरागरी बस्ने ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

थापालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–६ शहीदचोकबाट साउन २६ गते पक्राउ गरेको पत्रकार सम्मेलनमा कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयबाट चोरी गरिएका केही सामग्रीसमेत प्रहरीले थापाको कोठाबाट बरामद गरिएको छ भने कही सामग्री बिक्री गरिसकेको पाइएको छ । थापालाई चोरी तथा डाँका मुद्दामा जिल्ला अदालतमा मुद्दा दायर गरिएको उनले जानकारी दिए ।

पक्राउ परेको थापा यसअघि चोरी मुद्दामा काठमाडौँ केन्द्रीय कारागारमा विसं २०४६ देखि २०५१ सम्म पाँच वर्ष जेल सजाय र चोरी मुद्दामा विसं २०७१ देखि २०७४ सम्म कैद सजाय भोगिसकेका हुन् । २०७५ साल जेठ २ गते रातिको समयमा वडा नं १२ माटेपानीस्थित वडा कार्यालयबाट चोरी शुरु भएको थियो भने अन्तिम पटक वडा नं ६ को वडा कार्यालय २०७६ साउन २१ गते चोरी भएको थियो ।

चोरले वडा कार्यालय चोरी गर्दा विशेष गरी रड, स्कुडाइभर, पञ्जा, माक्सलगायतका चोरीमा प्रयोग गर्ने सामग्री थापाको डेराबाट प्रहरीले बरामद गरेको छ । चोरी गरेका सामग्री ल्यापटप, क्यामेरा, कम्प्युटर, सिपियुजस्ता सामग्री खरीद गर्ने मकवानपुर जिल्ला थाहा नगरपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा कम्प्युटर सोलुसन पसल सञ्चालन गर्दै आएका ३६ वर्षीय रुपचन्द्र गोपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

एक वर्षको अवधिमा पोखरा महानगरपालिका वडा नं १२, १५, १४, २९, ५, १३, २, १६, १९, ३१ र २५ कार्यालय विभिन्न मितिमा चोरी भएका थिए । सबै वडा कार्यालय रातिमा चोरी भएका हुन् । ती वडाबाट सामानसहित नगदसमेत चोरी भएको थियो ।