बाग्मती

जनैको आयात रोक्न परम्परागत विधिलाई प्रोत्साहन

काठमाडौँ। विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढङ्गबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक रु एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम्परागत तरिकाले जनै बनाउने तालीम दिइएको थियो ।

विदेशबाट आयात गरिने जनै यन्त्रमा बन्ने भएकाले संस्कृति संरक्षण नहुने भएकाले मौलिक विधिलाई संरक्षण गर्न दुई जना प्रशिक्षकबाट तालीम दिइएको प्रतिष्ठानका सदस्य सुशील गौतमले राससलाई जानकारी दिए ।

परम्परागत तरिकाबाट जनै बनाउँदा काठको यन्त्र र कतुवाको प्रयोग गरिन्छ । परम्परागत विधिबाट जनै बनाउन समय लाग्ने भएकाले एकप्रतिको रु १५ मा बेच्ने गरिएको उनले बताए। प्रतिष्ठानले सहृदयता उद्यमशीलता प्रालि नामक कम्पनी नै खोलेर जनै बनाउने व्यवसायलाई संरक्षण गर्न थालेको छ ।

यसरी बनाइएको जनैको माग देश, विदेशमा हुन थालेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा गत वर्ष चीनबाट समेत जनै आयात गरिएको सार्वजनिक भएको थियो । केन्द्रले भने जनै आयात भए पनि रुपैयाँ नै तोकेर सार्वजनिक भएको तथ्याङ्क आधिकारिक नभएको जनाएको छ ।

केन्द्रका सूचना अधिकारी शान्तिदेवी मल्ल शिखा (पवित्र गाँठो) बनाइएको जनै पूजाका लागि आयात हुने गरे पनि त्यसको वास्तविक तथ्याङ्क भने नभएको उनले सुनाए । कपडा र धागोसँगै जनै पनि आयात हुने भएकाले कतिको आयात भएको हो भनी भन्न नसकिने केन्द्रले जनाएको छ ।

उपनयन संस्कार अर्थात् व्रतबन्ध गरेपछि तागाधारीले जनै टुटाउन नहुने शास्त्रीय विधि छ । ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णलाई शास्त्रीय रुपमा जनै लगाउने अधिकार रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै फेरिन्छ । यस दिनलाई जनै पूर्णिमा पनि भनिन्छ । जनैपूर्णिमामा फेरिएको जनैको अवधि चार महीना मानिन्छ । चार महीनापछि अर्को जनै फेर्नुपर्ने व्यवस्था शास्त्रमा गरिएको छ ।

मानिस जन्मिएको र मरेको कर्म सिध्याउने बेलामा जुठो सुतक लाग्ने दाजुभाइले जनै फेर्नुपर्छ । मलामी गएर फर्किएपछि स्नान गरी नयाँ जनै फेरिन्छ । जनै पहिले घरमै तयार पारिन्थ्यो । हाल घरमा जनै बाट्ने मानिस भेट्न मुस्किल छ । थोरै सङ्ख्यामा मात्र मानिसले जनै बनाउने गरेका छन् ।

वैदिक र तान्त्रिक विधिअनुसार गरिने धार्मिक काममा चढाउन पनि यसको प्रयोग गरिन्छ । पछिल्लो समय जनै बाट्ने प्रचलन हराउँदै गएको छ । घरमा जनै बनाउन छोडेपछि यन्त्रले बनाएको जनैको आयात विदेशबाट हुन थालेको थियो ।

नेपालमा चाहिने जति जनै यहीँ बन्न नसकेपछि विदेशबाट आयात हुने गरेको हो । चीनबाट मात्र नभई भारतबाट समेत जनैको आयात हुन्छ । नेपाली युवा भने कामका लागि दैनिक दुई हजारभन्दा बढीको सङ्ख्यामा विदेशिन्छन् । विदेशिएका युवाले ४० डिग्रीभन्दा बढी तापक्रम भएका स्थानमा काम गर्न बाध्य छन् ।

जनै बाट्नेजस्ता परम्परागत काममा सम्मान र पारिश्रमिक दुवै कम हुने भएकाले यसप्रति युवा पुस्ताको ध्यान जान नसकेको कर्मकाण्ड पेशामा संलग्न ज्ञानप्रसाद तिमल्सिना बताउछन् । घरमा बनाएको जनैभन्दा विदेशबाट यन्त्रमा उनेर ल्याइएका जनैको मूल्य सस्तो भएपछि यो पेशा अपनाउनेको सङ्ख्या घटेको उनको भनाइ छ ।

सामान्यतया यन्त्रमा बनाएर बजारमा बिक्री हुने एउटा जनैको मूल्य रु पाँचदेखि १० सम्म पर्छ । घरमै बनाइने जनैको रु १५ देखि २० सम्म पर्ने गरेको छ । घरमा बनाएको जनैको केही बढी पर्ने भएकाले पनि घरेलु उद्योग धराशायी भई आयात बढेको हो ।

स्थानीय सरकारले यसमा सहुलियत दिने, नयाँ पुस्तालाई पुरानाबाट जनै निर्माण कला सिकाए आयात घटाउन सकिने कागेश्वरी मनोहरा नगरपालिका–६ का पण्डित राजेन्द्रप्रसाद सापकोटा बताउछन् । आफूले वार्षिक एक हजारसम्म जनै बनाई रु १५ देखि २० सम्ममा बिक्री गर्ने गरेको उनले सुनाए । प्रतिष्ठानले भने यस वर्ष प्रत्यक्षरुपमा १५ जना र श्रव्यदृश्यका माध्यमबाट ३६ जनालाई तालीम दिएर परम्परागत तरीबाट जनै बनाएको जनाएको छ ।

जनै बनाउने शास्त्रीय विधि

तागाधारी परिवारकी महिलाले कपासबाट धागो बनाउनुपर्ने र धागो बाटेर विधिपूर्वक जनै बनाउने विधि छ । यन्त्रमा बनाएको जनैमा यो विधि पूरा हुँदैन । धागोलाई दुईपटक तेब्रयाएर छ डोराको बनाउनुपर्ने धर्मशास्त्रविद् गौतम बताउछन् । तीन डोराको एउटा शिखा बनाउनुपर्छ । अर्को तीन डोराको अर्को शिखा गरेर दुई शिखा बनाउने विधि हुन्छ ।

शिखामा ब्रह्मा, विष्णु र महेश्वरको वास हुने धार्मिक विश्वास छ । जनै मन्त्रँदा शिखामा तीनै जना देवता, अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ब्रह्म तेज पैदा गर्ने बनाउनुपर्छ । यसरी बनाइएको जनैले नै शास्त्रमा वर्णन गरेबमोजिमको फल दिन्छ ।

रक्षाबन्धन आयात

जनैमात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने रक्षाबन्धनअर्थात डोरो पनि तयारी नै आउँछ । जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बी सबैले दाहिने हातमा डोरो लगाउँछन् ।

रक्षाबन्धन विवाह, व्रतबन्ध, नामकरण, होम, आदि कर्ममा पनि वैदिक मन्त्रोच्चारणसहित विधिपूर्वक मन्त्रेर लगाइन्छ । नारायण कवच समेत पाठ गरेर रक्षाबन्धन पूजा गरिन्छ ।

पछिल्लो समय कर्मकाण्ड गर्नेले पनि काँचो धागो किनेर रक्षाबन्धन बनाउने झञ्झट गर्दैनन् । विदेशबाट रङ्ग्याएर आयात गरिएको डोरो किनेर जजमानको हातमा बाँधिदिन्छन् ।

रक्षाबन्धन मानव जाति सबैले लगाउनुपर्ने शास्त्रीय वचन छ । यो विधि पूरा गर्नुपर्ने रक्षाबन्धनसमेत विदेशबाट आयात हुँदा शास्त्रसम्मत नहुने धर्मशास्त्रविद्को मत छ ।

घरमै हस्तकलाका माध्यमबाट बनाउन सकिने धेरै सामानको आयात बढ्न थालेको छ । यस्ता सामग्रीको निर्माणमा प्रोत्साहन नगरिँदा वार्षिक अर्बौं रुपैयाँ विदेशिन्छ । घरेलु उद्योगलाई सहुलियत दिए यस्तो आयात घटाउन सकिने प्रतिष्ठानले जनाएको छ ।