प्रदेश 1

किराँती सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम पहिराको जोखिममा

खोटाङ। किराँत सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम पहिराको उच्च जोखिममा परेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक कालोपत्र गर्न फराकिलो बनाएपछि भित्तापट्टिको भाग क्रमशः झर्ने क्रम नरोकिँदा ऐतिहासिकस्थल तुवाचुङ–जायजुम पहिराको जोखिममा परेको हो ।

निरन्तर पहिरो झरिरहने तुवाचुङ–जायजुमको तल्लो भेग बर्खेटारमा यस वर्ष गत असार २६ गते राति सडकमा ठूलो चट्टानसहितको पहिरो थुप्रिएको थियो । करीब ५०० मिटरमाथिबाट सडकमा खसेको पहिरो पन्छाउने काम अझै पूरा भएको छैन ।

सडकमाथि निरन्तर पहिरो झर्नाले यातायातका सवारी साधन राजधानी काठमाडौँ तथा तराईका जिल्ला आवतजावतमा समेत समस्या हुने गरेको छ । कालोपत्रको काम भइरहेको बर्खेटार पुगेपछि सडकमाथिबाट झरिरहने पहिरोको डरले यात्रुहरु त्रासमा हुने गरेको सवारी चालकहरुले बताउने गरेका छन् । पत्रै–पत्र बनेर अडिएको ढुङ्गा हरेक वर्ष बर्साद शुरु हुनासाथ निरन्तर झर्नाले ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायजुमको अस्तित्व नै सङ्कटमा परेको संरक्षण समितिका महासचिव दिनेश राईले बताए । “निरन्तरको पहिरोले हाम्रो ऐतिहासिकस्थल जोखिममा परेको छ”, उनले भने “पहिरो रोकथाम गरेर दीर्घकालीन समस्या समाधान गर्न स्थानीय तथा प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको छ ।”

त्रिधार्मिकस्थल हलेसीभन्दा करीब तीन किलोमिटरमाथि रहेको तुवाचुङ–जायाजुममुनि सडक निर्माण गरिएकाले हरेक बर्खायाममा सडकको भित्ता खस्ने गरेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीदेखि उत्तरी क्षेत्रमा पर्ने तुवाचुङ–जायाजुम मुन्तिरको भाग तह–तह बनेर अडिएको चट्टाने भित्ताको जग सडक फराकिलो पार्ने क्रममा काटिएपछि विभिन्न ठाउँमा चट्टानको पत्र टुक्रिएर झर्ने गरेको हो ।

पहिरो खस्ने क्रम नरोकिएका कारण ऐतिहासिक तथा पर्यटकीयस्थल यस स्थानको पुरातात्विक संरचनामा असर पर्ने देखिएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए । विसं २०७५ असार २० गते राति चट्टानको पहिरो खसेको बर्खेटार सडकमा पुनः सोही वर्षको भदौ २३ गते पहिरो खस्दा लामो समय सडक अवरुद्ध भएको थियो ।

बर्खेटार आसपासबाट ठेकेदार कम्पनीले ढुङ्गागिट्टी निकाल्दा तुवाचुङ–जायाजुम पहिरोको उच्च जोखिममा परेकाले आगामी दिनमा ढुङ्गागिट्टी निकाल्न रोक लगाइएको नगरप्रमुख इवन राईले बताए । “निर्माणाधीन अवस्थामा रहेको हलेसी–दिक्तेल सडकखण्डमा बर्खेटार आसपासको ढुङ्गागिट्टी प्रयोग गरेको पाइयो”, उनले भने, “आगामी दिनमा नगरपालिकाको बिनाअनुमति निकालेको पाइएमा कडा कारवाही गरिनेछ । ढुङ्गागिट्टी निकासीमा रोक लगाइएको कुरा हलेसी क्षेत्रमा काम गर्दै आएको प्रत्येक ठेकेदार कम्पनीलाई सोमबार लिखित पत्रसमेत पठाइएको छ ।”

पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको तुवाचुङ–जायाजुममा २०७४ साल मङ्सिर २ गते किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा स्थापना गरिएको छ । किराँती पुर्खाको प्रतिमा स्थापना गरिएपछि दर्शन गर्न र भ्रमण गर्न देश विदेशका किराँती र गैरकिराँती पर्यटकको भीड लाग्ने गरेको छ ।

किराँतीको उद्गम थलो र आस्थाको केन्द्र तुवाचुङ–जायाजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा भुटान लगायतका किराँत समुदाय आउने गरेका छन् । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्य पदमार्गमा पर्ने तुवाचुङ–जायाजुममा किराँती सभ्यताको अध्ययन भ्रमण तथा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका हुन् ।

तुवाचुङ जायजुममा किराँत राई समुदायले हरेक वर्ष सामूहिक चुला पूजासमेत गर्दै आएका छन् । पितृको सम्झना तथा संस्कार संस्कृतिको संरक्षणको सन्देश दिन किराँत राई समुदाय भेला भएर तीन चुलाको पूजा गर्ने गरेका हुन् । किराँत राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषियुग र मानव सभ्यताको शुरुआत गरेको किंवदन्ती बोकेको स्थलमा हरेक वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमाका अवसरमा एकःएक पटक चुला पूजा गरिन्छ । ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै तीन चुलाको पूजा गर्ने गरिएको हो ।