कर्णाली प्रदेश

स्थानीयवासीले आफ्नै श्रमदानमा काठेपुल निर्माण

सुर्खेत। यही साउन १९ गते तिलानदीमा आएको बाढीले बगाएको हाँकु र लाम्रागाउँ जोड्ने पुल स्थानीयवासीले आफ्नै श्रमदानमा निर्माण गरेका छन् ।

तातोपानी गाउँपालिका–४ र ५ वडाका स्थानीयवासीले सयौँ वर्ष आयु भएको शक्तिशाली देवदार रुख प्रयोग गरेर काठेपुल बनाएका हुन् । पुल बगाउँदा असहज स्थिति सिर्जना भएपछि हाँकु र लाम्रागाउँका करीब पाँच हजार जनसङ्ख्याको आवतजावत गर्नका लागि तत्काल काठेपुल निर्माण गरिएको लाम्रागाउँ निवासी हरिगोपाल चौलागाईँले जानकारी दिए ।

बाढीले तीन दशकअघि निर्माण भएको काठेपुल बगाएको थियो । पुल बगाएपछि साविकको लाम्रा र हाँकु गाविसको सम्बन्ध टुटेको थियो । “पुल बग्यो, हाम्रो आवतजावतको दैनिकी बन्द भयो”, चौलागाईंले भने, “कसैसँग माग्नु र भर पर्नुभन्दा हामी आफैँ गर्न सक्छौँ भनेर दुवै गाउँवासी जुट्यौँ ।” आखिर जोखिम मोलेर भए पनि दुवै गाउँवासीको सामूहिक प्रयासले पुल निर्माण गरी आवागमन सञ्चालन गरेरै छोडिएको उनले बताए ।

तत्काल भू–संरक्षण तथा जलाधार कार्यालय जुम्लाले तटबन्धका लागि भनेर जाली सहयोग गरेको उनको भनाइ थियो । यता नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि काठको साँघु निर्माणका लागि भौतिक सहयोग गरेको बताए ।

पैसाले मात्र विकास हुन्छ भन्ने कुरा भ्रम रहेछ भन्दै केन्द्रीय सदस्य चौलागाईँले भने, “इच्छाशक्ति र साझा प्रतिबद्धता अभ्यासमा उतार्दा जस्तोसुकै काम सजिलै हुन सक्दा रहेछन् भन्ने उदाहरण यो कामले देखाएको छ । यसले यहाँको समुदायको सान र स्वाभिमान दुवै उँचो बनाएको छ ।” उनका अनुसार स्थानीयवासीले रु छ लाख ४७ हजारको श्रमदान गरेका छन् ।

स्थानीय कमला कामीले पुल निर्माणले खुशी लागेको बताए ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले यो सामूहिक कामले विगतको ऐतिहासिक घटनाको याद दिलाएको बताए । आफ्नो गाउँ, समाज आफैँले निर्माण गर्न सकिन्छ र गर्नेहरुले कसैबाट पाउने आसले मर्नुपर्दैन भन्ने देखिएको छ ।