खेलकुद

‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ असोज ११ देखि

सुरुङ्गा । आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ ।

प्रतियोगितामा दुई विदेशी टिमसहित नेपालका विभागीय टोलीको सहभागिता रहने मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइयो । विगत दुई वर्षदेखि खेलकूद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता हुने र प्रदेश नं १ को झापालाई खेलकूद क्षेत्रको ‘हव’का रुपमा विकास गर्न प्रतयोगिता आयोजना गरिएको क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद रु १२ लाख ५० हजार र उपविजेता टिमले रु छ लाख २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न क्रण्डै रु ८० लाख लाग्ने बताइएको छ ।

यसैबीच क्लबले गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको जानकारी दिएको छ । कार्यक्रममा उपस्थित प्रशिक्षक खड्का र आयोजकका अध्यक्ष भुजेलबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदान–प्रदानसमेत गरिएको थियो ।