अन्तर्राष्ट्रिय

बङ्गलादेशमा डेङ्गुका कारण ४० जनाको मृत्युः स्वास्थ्य मन्त्रालय

ढाका । बङ्गलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बङ्गलादेशमा डेङ्गुको आशङ्कामा हजारौँको सङ्ख्यामा विरामीहरू भर्ना भएपछि अस्पतालहरूले उनीहरूको उपचार सेवामा समेत असहज महशुस गरेको बताएका छन् ।

लामखुट्टेको टोकाईबाट हुने भाइरल सङ्क्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेङ्गु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकहरूमा मनसुनी बर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ । तर यो बर्ष डेङ्गुले एशियाली केही मुलुकहरूमा जटिल समस्याका रूपमा देखा परेको छ ।

बङ्गलादेशमा गत जनवरीदेखि सोमबारसम्ममा ४४ हजार विरामी डेङ्गुको आशङ्कामा अस्पताल भर्ना भएका छन् । सोमबार मात्रै बङ्गलादेशका विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएका अस्पतालहरूबाट प्राप्त तथ्याङ्कमा उल्ेलख गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताए ।

उनले एएफपीसँग भने, “मन्त्रालयले यसबर्ष अहिलेसम्म ४० डेङ्गुसम्वन्धित विरामीको मृत्यु भएको पुष्टि गरेको छ ।”

तर बङ्गलादेशी सञ्चारमाध्यमले गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकको डेङ्गुका कारण मृत्यु भएको बताएका थिए ।

बङ्गलादेशमा एक हप्ता लामो इद–अल–आधा मनाउन लाखौँ नागरिकहरू शहरबाट गाउँ भित्रिने हुँदा रोग थप फैलिनसक्ने भन्दै अधिकारीहरूले चासो व्यक्त गरेका छन् ।

यद्यपि स्वास्थ्य मन्त्रीले भने डेङ्गुको सङ्क्रमण ‘विस्तारै घट्दै गएको’ यसै हप्ता ढाकामा एक सार्वजनिक कार्यक्रमका क्रममा बताएका छन् ।

“बङ्गलादेशमा डेङ्गुको समस्याप्रति बढेको चासोसँगै सरकारले सबै स्वास्थ्यकर्मीलाई बिदा रद्ध गरी सङ्कटलाई साम्य पार्न पहल गर्न सघाउन आग्रह गरेको छ,” स्वास्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले बताए ।

“विरामीको चापसँगै कामको चापलाई कम गर्न चिकित्सकहरूलाई जटिलता देखिएको छ,” एक स्वास्थ्य अधिकारीले एएफपीलाई बताए ।