अन्तर्राष्ट्रिय

किर्गिजस्तानका पूर्व राष्ट्रपतिमाथि सत्ताविद्रोहको आरोप

बिश्केक । किर्गिजस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ ।

पूर्व राष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको थियो । अटामबायेभ सन् २०११ देखि २०१७ सम्म किर्गिजस्तानको राष्ट्रपति थिए ।

अटामयेभलाई पक्राउ गर्नु अघिल्लो दिन उनका समर्थक र प्रहरीबीच भिडन्त भएको थियो । राष्ट्रिय सुरक्षा सेवाका प्रमुख ओरोजबेक ओपुमबायेभले पत्रकार सम्मेलन गर्दै पूर्व राष्ट्रपति अटामयेभले मुलुकमा रक्तपात चाहेको आरोप लगाए । सुरक्षा प्रमुख ओपुमबायेभले भने – पूर्व राष्ट्रपतिको एकमात्र चाहना सत्ताविद्रोह देखिएको छ ।

पूर्व राष्ट्रपति अटामबायेभमाथि हत्याको आरोपका विषयमा पनि अनुसन्धान थालिएको सुरक्षा सेवाले जनाएको छ । राजधानी विश्केकमा भएको प्रदर्शनमा पूर्व राष्ट्रपतिका समर्थकहरु हतियार सहित प्रदर्शनमा उत्रिएको र त्यसक्रममा एक सुरक्षाकर्मीको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएका थिए ।

सुरक्षा सेवाका वकील जमिर बेइसेकिभले सरकारी अधिकारीहरुको नियोजित हत्या र हिंसा भड्काउन पूर्व राष्ट्रपतिको भूमिकाका बारेमा पनि अनुसन्धान भइरहेको बताए ।

दुई दशकभित्रै किर्गिजस्तानमा दुई पटक क्रान्ति भइसकेको छ । पूर्व राष्ट्रपति अटामबायेभ र राष्ट्रपति सूरोनबाई जीनबेकोभबीच तिक्ततापूर्ण सम्बन्ध रहेको छ ।

अटामबायेभको गिरफ्तारीका बारेमा प्रहरीले दुई पटक सूचना पठाए पनि उनले आत्मसमर्पण गरेका थिएनन् । उनीमाथि आफ्नो राष्ट्रपतीय शासनकालमा चेचेन कुख्यात व्यक्ति अजिज बाटुकायेभलाई सन् २०१३ मा मुक्त गरेको विषयमा पनि सरकारले छानबिन थालेको छ ।