स्वास्थ्य

जिल्ला स्वास्थ्य कार्यालयद्वारा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

बेझाड। पाल्पाको निस्दी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलाई आज गाउँपालिकाको कार्यालयमा आयोजित एक समारोहबीच एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारबाट प्राप्त बजेटमा करकट्टी कटाएर रु १२ लाख मूल्य बराबरको एम्बुलेन्स स्वास्थ्य कार्यालयले खरीद गरी सो गाउँपालिकालाई हस्तान्तरण गरेको सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

पाल्पा जिल्लाकै सबैभन्दा विकट ठाउँमा रहेको निस्दी गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएपछि गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिक लगायत अन्य व्यक्तिलाई स्वास्थोपचारका लागि स्वास्थ्य संस्थासम्म आउनजान सहयोग पुग्ने विश्वास लिइएको छ ।

यस गाउँपालिकामा एम्बुलेन्स नहँुदा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अन्यत्र लैजान स्थानीयवासी बाध्य थिए । अब गाउँपालिकामा एम्बुलेन्स आएपछि चर्को भाडादर, गाडी नपाएर बिरामीलाई घण्टौँ घर तथा बीच बाटोमै छटपटाउनुपर्ने समस्या समाधान हुने भएको छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष दयाराज बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।