पर्यटन/संस्कृति

नन्दिकेश्वर महादेव मन्दिरको पुनर्निर्माण हुने

मध्यपुरथिमि । सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित नन्दिकेश्वर महादेव मन्दिरको पुनर्निर्माण हुने भएको छ ।

नेपाल सरकार पुरातत्व विभागले रु एक करोडको लागतमा मन्दिरको पुनर्निर्माण गर्न लागेको हो । नन्दिकेश्वर महादेव संरक्षण समितिले आज आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले यो मन्दिरको पुनर्निर्माणका लागि सरकारले रु एक करोडको बजेट विनियोजन गरेको उल्लेख गर्दै यहाँको सामुदायिक भवन निर्माणका लागि शहरी विकास मन्त्रालयबाट रु २१ लाख बजेट विनियोजन भएको र आवश्यक पर्ने थप बजेट सांसद विकास कोष, प्रदेश सरकार र नगरपालिकाबाट व्यवस्था गरिनेछ ।”

नंखेलको विकासलाई जोडेर पलासे डोलेश्वर सडक निर्माण गर्दै यस वर्ष सबै कालोपत्र गर्ने, डोलेश्वरदेखि कैलाशनाथसम्मको अर्को सडक निर्माण गरेको, केन्द्रीय योजनाबाटै भातेढिकुरबाट नंखेल आउने सडक कालोपत्र हुने क्रममा रहेको पनि उनले बताए ।

सांसद बस्नेतले त्रिवेणी खोला, डोके खोला, भारआली खोलमा यसै वर्ष तीन वटा पुल बन्ने र यही तीनवटै खोलाको खानेपानी आयोजनालाई विकास गरी नंखेलको घरघरमा खानेपानी पुर्‍याउने घोषणा गरे ।

कार्यक्रममा विभिन्न दातालाई सम्मान पनि गरिएको थियो ।