स्वास्थ्य

२४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याडको मेसिन जडान

भीमदत्तनगर,। विद्यालयमा अध्ययनरत् छात्राहरु सहजताका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले सामुदायिक विद्यालयमा मेसिनबाट सेनेटरी प्याड लिन सक्ने गरी ‘एटिएम मेसिन’ जडान गरेको छ ।

बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले २४ सामुदायिक विद्यालय र नौ वटा स्वास्थ्य संस्थामा सेनेटरी प्याड जुनसुकै बेला लिन सक्ने गरी सो मेसिन जडान गरिएको बताए । नगरपालिकाले रु २६ लाख ३३ हजारमा सो मेसिन जडान गरेको हो ।

महिनावारी भएको बेला पनि छात्राहरुलाई सहज हुने भएकोले मेसिन विद्यालयमै जडान गरिएको नगरप्रमुख चन्दको भनाइ थियो । “महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने र बीचमै पढाइ छाड्ने लगायतका समस्या नदेखिउन भनेर निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।” चन्दले भने, “सरकारले पनि चालू आवमा सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भनेको छ ।”