बाग्मती

चोरीका घटना बढ्यो

काठमाडौँ । देशभर चोरीका घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५।७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो ।

मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ । साधारण चोरीमा दुई हजार १४२ जना विरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, डाँका चोरी १९९, नकबजनी चोरी १५५, सवारी चोरी १२३, चौपाया चोरी ११, पुरातात्विक चोरी चार र रहजनी चोरीमा तीन जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले रातिको समयमा भन्दा दिउँसोको समयमा बढी चोरी हुने गरेको बताउँछन् । “दिउँसो घरमा कोही नभएको अवस्था पारेर धेरै चोरी हुने गरेको छ”, उनी भन्छन् ।

प्रहरीले आव २०७४।७५ मा चोरीका घटनामा एक हजार ६२८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।

उपत्यकामा ८८८ विरुद्ध मुद्दा दायर

काठमाडौँ उपत्यकामा चोरीका घटनामा ८८८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । उपत्यकामा आव २०७५।७६ मा उक्त व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा साधारण चोरीमा ६७९, मोटरसाइकल चोरीमा ५१, नकबजनी चोरीमा ३६, डाँका चोरीमा ८७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विगतका वर्षहरुमा भन्दा उपत्यकामा सङ्गठित रुपमा हुने चोरीका घटनामा कमी आएपनि साधारण चोरीका घटनामा भने कम नआएको बताउँछन् ।