आर्थिक

कृषि र पशुपालनका क्षेत्रमा चार उद्यमी सम्मानित

पाल्पा। कृषि र पशुपालनका क्षेत्रमा उल्लेखनीय योग्दान गरेका पाल्पाका चार युवा सम्मानित भएका छ । सम्मानित हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–५ का पुजन कार्की, तानसेन–८ का दुर्गाबहादुर खाँण, तानसेन–९ का विष्णुप्रसाद भण्डारी, तानसेन–१२ का रुकवीर रेश्मी रहेका छन् ।

तानसेन युवा परिषद्ले २०औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर उत्कृष्ट चार उद्यमीलाई सम्मानित गरेको हो । सम्मानित हुनुहुने उद्यमीलाई तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले सम्मानपत्र हस्तान्तरण गरे । सम्मानित उद्यमी विष्णुप्रसाद भण्डारी र दुर्गाबहादुर खाँणले आफूहरुले व्यवसाय शुरु गर्दा अप्ठ्यारो अवस्था छिचोल्दै अहिले स्वरोजगार बन्न सफल बनेको बताए ।

मेहनत र परिश्रम गरेर स्वदेशमा स्वरोजगार सिर्जना गर्न सकिने भन्दै उनीहरूले त्यसका लागि पेशा व्यवसायमा निरन्तरता आवश्यक रहने बताए । नगरपालिका प्रमुख शाहीले हरेक व्यवस्था परिवर्तनमा निर्णायक भूमिका उल्लेखनीय रहेकोले युवाले अब आर्थिक क्रान्ति गर्न उद्यमी बन्न आवश्यक रहेको औँल्याए ।

बेरोजगार युवा विस्तारै उद्यमशील हुनुपर्ने र त्यसका लागि तानसेन नगरपालिको सहयोग गर्न तयार रहेको प्रमुख शाहीको भनाइ थियो । तानसेन युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले उद्यमी युवालाई सम्मान गर्दा समाजमा उद्यम व्यवसायमा युवाको आकर्षण बढाउन यस्ता कार्यक्रम प्रोत्साहन बन्ने बताए ।

ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) पाल्पाका लीला कार्कीले नगरपालिका क्षेत्रभित्रका युवालाई स्वरोजगार बनाउन राज्यले सहुलियत कर्जा प्रवाह गरेकाले सोहीअनुसार सदुपयोग गर्न आवश्यक रहेको बताए । दायित्व नेपालका डा पुकार मल्लले युवा उद्यमी बने मात्र समृद्ध नेपालको सपना पूरा हुने बताए।

नगरपालिकाले स्वरोजगार बनाउन रु एक करोडसम्म बिनाधितो कर्जा प्रवाह गर्न नेपाल बैंक पाल्पासँग सम्झौता गरी काम अघि बढाएको छ ।