लुम्बिनी

बालविवाह गर्न पाउनुपर्ने माग गर्नेलाई कारवाहीको दायरामा ल्याउन किशोरी क्लब

राँझा। बाँकेमा कानूनविपरीत बालविवाह गर्न पाउनुपर्ने माग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन किशोरी क्लबहरुले माग गरेका छन् ।

सोह्र वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने भन्दै उठाइएको मागको प्रतिवाद गर्दै बाँकेका स्थानीय तहस्तरीय किशोरी क्लबहरूले यही साउन ३१ गते जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने भएका छन् ।

“कम उमेरमा विवाह गर्दा बालिकाको स्वास्थ्य, शिक्षा र व्यक्तिगत जीवनमा पर्ने नकारात्मक असरबारे हामी जानकार छौँ”, खजुरा गाउँपालिकास्तरीय किशोरी क्लबकी अध्यक्ष दीक्षा न्यौपानेले भनिन्, “तसर्थ विवाहको उमेर घटाउनेबारेको माग तर्कसङ्गत नभएकाले सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।”

उनका अनुसार सानो उमेरमै विवाह गर्दा हुने नोक्सानी र बालअधिकारबारे सजग बनाउन बालविवाहविरुद्ध अभियानमा सक्रिय किशोरी क्लबले जिल्लाका आठवटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउन थालेका हुन् ।

सोह्र वर्षको उमेरमै छोरीको विवाह गर्न पाउनुपर्ने माग गर्दै महिलाको एक समूहले नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेमा पटकपटक ज्ञापनपत्र र धर्ना दिन थालेपछि आफूहरु त्यसको प्रतिवादमा उत्रिएको डुडुवा गाउँपालिकास्तरीय किशोरी क्लबकी सहसचिव प्रमिला हरिजनले बताइन् ।

जानकी गाउँपालिका वडा नं ६ का रामदेव मिश्रले कानूनविपरीत १६ वर्षको उमेरमै विवाह गर्न पाउनुपर्ने भन्दै दूधेबालकसहितका महिलालाई प्रदर्शनमा ल्याएको पाइएको छ । बीस वर्षको उमेरमा बिहे गराउँदा ‘मधेसी समुदाय’का चेलीलाई समस्या हुने जिकिर गर्दै १६ वर्षमै विवाह गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग राखेको मिश्रले बताए ।