समाचार

“उज्यालो भक्तपुर अभियान”को शुभारम्भ गर्दै सांसद एवं पूर्वउद्योगमन्त्री बस्नेत

भक्तपुर। भक्तपुरलाई दीपावलीझैँ सधैँ उज्यालो बनाउने उद्घोष गर्दै आएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन् ।

सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर उनले अभियानको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले नेपालमा सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक संवादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई उज्यालो बनाउने अभियानको शुरुआत भएको बताए ।

उनले भने, “विगतमा धेरै वर्षदेखि लोडसेडिङलगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य यहाँका बासिन्दाका लागि अब सधैँ तिहारको दिपावलीजस्तो उज्यालो दिएको छ, प्रधानमन्त्री रोजगार कार्यक्रममा एक महीनासम्म लाग्नुभएका युवाहरुले स्वयंसेवीरूपमा बत्ती जडानकार्यमा सहयोग पु¥याएकामा धन्यवाद भन्न चाहन्छु ।”

भक्तपुरको गुण्डु ‘मर्निङवाक’ गर्नेमात्र नभई अबका दिनमा ‘इभिनिङवाक’ गर्ने ठाउँको रूपमा पनि परिचित हुनेछ भन्दै उनले भक्तपुरको कामबाट प्रभावित भई सहयोगी दाताहरु विकासका लागि सहयोग गर्न खोज्दै आउने गरेको बताए । उनले भने, “केही वर्षअघिसम्म विकास खोज्दै भक्तपुर भौँतारिन्थ्यो, अबका दिनमा भक्तपुरले विकास खोज्ने होइन, विकासले भक्तपुर खोज्दै आउन थालेको छ, अब भक्तपुरले विकासमा तीव्ररुपमा फड्को मार्नेछ ।”

भक्तपुरलाई हरित शहरको रूपमा विकास गर्ने उद्देश्यले कौशलटारबाट सिरुटारसम्मको सडकमा हरियाली सडक अभियान शुरु भई विरुवा रोपेको बताउँदै उहाँले उज्यालो अभियान र हरियाली अभियान जिल्लाभरि विस्तार गर्ने भनाइ राखे ।

कार्यक्रममा वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकालाई उज्यालो बनाउने अभियान गुण्डुबाट शुरु भएको बताए । चिनियाँ कम्पनी ग्यान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्युटको रु २५ लाखको लगानीमा सडकमा सौर्यबत्ती जडान गरिएको सापकोटाले बताए । उनले बत्तीजडित सडकको सरसफाइ गर्दै यसलाई हरियाली बनाउने अभियानसमेत अगाडि बढाइने बताए ।