शिक्षा

न्युन आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाग्लुङ । न्यून आय भएका परिवारका दश जेहेन्दार विद्यार्थीलाई नेपाल भाषा मंकाः खलः बागलुङले सोमबार शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । खलःमा स्थापित ‘कमल–सिर्जना श्रेष्ठ शैक्षिक कोष–२०७६’ बाट शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यार्थीलाई झोला, कपी, पोशाक र जुत्ता प्रदान गरिएको खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिएका छन् । सदरमुकामस्थित विद्यामन्दिर माविका अनिश श्रेष्ठ, दिया शाक्य, लवचन बुढामगर, अमृत आदर्श माविका दिविशा मलेपती र ऋतु शाक्यलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

यस्तै शैक्षिक सामग्री पाउनेमा रुद्रेपिपल माविका आयुश शाक्य, कालीगण्डकी बोर्डिङ स्कूलका अविनाश राजभण्डारी, कालिका कन्या माविका सिलश, आयुष्मा श्रेष्ठ न्यू ओएसिस बोर्डिङ स्कूलका विद्या र दिक्षा श्रेष्ठ छन् । बालबालिकाको पढाइमा सघाउने उद्देश्यले शैक्षिक कोष स्थापना गरेको कोषका संस्थापक कमलप्रसाद श्रेष्ठले बताएका छन् ।

व्यवसायीसमेत रहनुभएका श्रेष्ठ र उहाँकी श्रीमती सिर्जनाले यसै साता खलःमा रु दुई लाखको कोष खडा गरेका थियो । न्यून आय भएका र विपन्न परिवारका विद्यार्थीले समस्या झेलिरहेको पाइएपछि कोष स्थापनाका लागि पहल गरेका हौँ” खलःका अध्यक्ष राजभण्डारीले भने । खलःले शिक्षासँगै कला, संस्कृतिलगायतका क्षेत्रमा पनि कोष स्थापनाका लागि पहल गरिरहेको छ ।