कर्णाली प्रदेश

फागुन ४ देखि २६ अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला गरिने

बाग्लुङ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ४ देखि २६ गतेसम्म अन्तर्रा्ष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सञ्चालन हुने भएको छ ।

अन्तर्रा्ष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्षअघिदेखि नै शुरु भएको थियो । कार्यशालामा १० विदेशी र पाँच नेपालीसहित १५ मूर्तिकार सहभागी हुने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताएका छन् ।

कार्यशालास्थलमा सडक, शौचालयलगायतका संरचना बनिसकेका छन् । सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम अघि बढाइएको छ । कार्यशालाका लागि दुई टनभन्दा ठूला १५ वटा ढुङ्गा चाहिने जनाइएको छ । कार्यशालास्थलमा खानेपानी, विद्युत् सेवा पुर्याउने काम भइरहेको छ ।

पूर्वाधार तयारीका काममा हालसम्म रु एक करोडभन्दा बढी खर्च भइसकेको छ । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो । पर्यटन मन्त्रालयमार्फत बजेट आएपछि कार्यशालाको कामले गति लिएको हो । अघिल्लो वर्ष नै कार्यशाला सञ्चालन गर्ने भनिए पनि बजेट अभावमा ढिलाइ भएको थियो ।

गलकोट नगरपालिकाले पनि कार्यशालाका लागि गत आवमा रु तीन लाख बजेट छुट्याएको थियो । उक्त बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको प्रतिष्ठानले जनाएको छ ।कार्यशाला सम्पन्न गर्न थप रु एक करोड २० लाख बजेट आवश्यक पर्ने प्रतिष्ठानका अध्यक्ष रानाको भनाइ छ ।

सरकारले घोषणा गरेको नेपाल भम्रण वर्ष–२०२० लाई पनि कार्यशालाले टेवा पुर्याईने विश्वास लिइएको छ । “देश–विदेशका मूर्तिकारका अमूल्य कलाकृति सङ्ग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ”, अध्यक्षा रानाले भने ।
मूर्तिकला सङ्ग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्रसमेत बन्नेछ ।

अन्तर्रा्ष्ट्रियस्तरमा ख्यातिआर्जन गरेका मूर्तिकारले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालयमा राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि मूर्तिकला कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । प्रतिष्ठानले पूर्वाधार र मूर्तिकला कार्यशालाको लागि रु तीन करोड खर्च लाग्ने अनुमान गरेको छ । रु एक करोड ५० लाख कार्यशालामा मात्र खर्च हुने जनाइएको छ ।

कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्नेछ । गलकोटमै जन्मनुभएका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशाला हुनलागेको हो । कार्यशालाका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्क प्रतिष्ठानलाई उपलब्ध गराएका थिए । कार्यशालास्थल टेउवा पर्यटकीय लेक घुम्टेको तल पर्छ । सदरमुकाम बागलुङ बजारदेखि ५० किमी मोटरयात्रामा टेउवा पुग्न सकिन्छ । टेउवा पुग्ने पर्यटकले ऐतिहासिक गलकोट दरबार, गाईघाट झरनालगायतका पर्यटकीय गन्तव्य पनि घुम्न सक्छन् ।