समाचार

केहि सुन र पैसाको लोभमा ५३ वर्षिया शाहिको घाँटिरेटि हत्या

दमौलि । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो ।

शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिएका छन् । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता भएका थिए ।

शाहीको खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ । सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौँ”, प्रहरी उपरीक्षक सिलवालले भने “शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।

” हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताएका छन् । शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । “चार÷पाँच तोला सुन र रु ४०÷५० हजार उहाँसँग सधैँ हुन्थ्यो”, एक स्थानीयवासीले भने “त्यही प्रलोभनका कारण उनको हत्या भएको हुनसक्छ ।”