अन्तर्राष्ट्रिय

आप्रबासी तथा शरणार्थीको भार समान बनाऔंः ग्रीस

एजेन्सी । यूरोपमा पुग्ने आप्रबासी शरणार्थीको भारलाई समानरूपमा वितरण गर्न ग्रीसले यूरोपेली संघ (इयू) सँग सोमबार आग्रह गरेको छ । ग्रीसका केही टापूहरू हुँदै यूरोप प्रबेश गर्न खोज्ने आप्रबासीको सङ्ख्या गत केही हप्ता यता व्यापक बढेपछि ग्रीसले उनीहरूको व्यवस्थापनलाई लिएर इयूमा चिन्ता व्यक्त गरेको हो ।

गत जुलाई ७ पछि ग्रीसको बाटो यूरोप प्रबेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक आप्रवासी आउन थालेपछि ग्रीसले यो समस्यालाई इयूमा उठाएको बताइएको छ । “विगत एक डेड महिना एता आप्रबासीको प्रवाहमा निकै वृद्धि भएको छ,” ग्रीसका नागरिक सुरक्षा उपमन्त्री जर्जियस कोमोटसाकेसले ग्रीक दैनिक काथिमेरिनीसँगको अन्तवार्तामा भने ।

टर्कीको नजिक रहेका ऐजन टापूहरू लेस्बस, सामोस, चिओस, कोस, र लेरोसमा २० हजारभन्दा बढी आप्रबासी, शरणार्थीहरू जम्मा भएका छन् । पछिल्ला केही महिनामा आप्रबासी तथा शरणार्थीहरूको उक्त क्षेत्रमा प्रवेशको क्रम १७ प्रतिशतले बढेको बताइएको छ ।

इयूले शरणार्थीको वृद्धि हुनुमा ग्रीसको नयाँ अनुदारवादी पार्टीको आप्रबासी नीतिलाई जिम्मेवार देखेको छ । पछिल्लो समय इयूले आप्रबासी नियन्त्रणमा ग्रीस र इटालीका नाकामा कडाई गर्ने नीतिसँगै उक्त बाटो यूरोप पुग्ने आप्रबासीको सङ्ख्यामा व्यापक कटौति भएको थियो ।

सिरिया, लिविया, यमन, अफगानिस्तान लगायतका मुलुकमा भएको द्वन्द्वका कारण सन् २०१५ मा यूरोपमा शरणार्थीका रूपमा पुग्ने एशियाली तथा अरबी नागरिकको सङ्ख्याले आप्रबासी समस्या एक सङ्कटका रूपमा देखिएको थियो । तर पछिल्ला केही बर्षमा यो सङ्ख्यामा उल्लेख्य कमी आएको थियो ।