प्रदेश 1

ट्राफिक व्यवस्थापन गर्न दमकमा कार्यविधि

दमक। झापाको दमक नगरपालिकाले नगरको यातायात तथा ट्राफिक व्यवस्थापन गर्दै शहरी सुदृढीकरणका लागि छुट्टै कार्यविधि बनाएर लागू गरेको छ ।

सो कार्यविधि अनुसार दमक–२ का वडाध्यक्ष तथा यातायात क्षेत्रका अनुभवी प्रजापति सापकोटा अध्यक्ष रहेको ३७ सदस्यीय दमक यातायात तथा ट्राफिक व्यवस्थापन एवं शहरी क्षेत्र सुदृढीकरण समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।

समितिले ट्राफिक प्रहरी र जनपद प्रहरीको सहयोगमा सो कार्यविधि कार्यान्वयन गर्ने गराउने अध्यक्ष सापकोटाले बताए । सो कार्यविधिको कडाइसाथ पालना गराउने विषयमा सम्बन्धित निकायबीच चरणबद्ध छलफल गरिएको छ । कार्यविधिमा नगरपालिकाको बजार क्षेत्र र लोकमार्गमा प्रतिघण्टा ४० किमीभन्दा बढी गतिमा सवारी चलाउन रोक लगाइएको छ ।

त्यस्तै समितिले सडकको व्यस्तता र सवारी चापसमेत हेरेर नगरका अन्य सडकमा समेत गाडीको गति सीमा तोक्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै कार्यविधिमा सडकमा गति नियन्त्रणका लागि भन्दै ‘रोड ब्रेकर’ राख्न रोक लगाइएको छ । यसअघि निर्माण भएका रोड ब्रेकर एक महीनाभित्र हटाउन पनि सम्बन्धित उपभोक्तालाई समितिले आदेश दिने उल्लेख छ । त्यस्ता रोड ब्रेकरका कारण सडकमा दुर्घटनाको जोखिम झनै बढेको ट्राफिक प्रहरीको निष्कर्ष रहेकाले हटाउने व्यवस्था गरिएको हो । नगरपालिकाले तोकेका यातायात तथा ट्राफिक व्यवस्थापनसम्बन्धी नियम उल्लङ्घन गर्ने सवारीलाई सो समितिले जरिवानासमेत गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

सवारी साधन दुर्घटना भएमा दुर्घटनामा गल्ती गरेको सवारी पहिचान गरी कारवाही गरिने, नगरपालिका क्षेत्रभित्र मापसे गरी सवारी चलाएमा प्रहरीले नियन्त्रणमा लिई त्यस्ता चालकमाथि हदैसम्मको कानूनी कारवाही र जरिवानासमेत समितिले गर्ने जनाइएको छ ।

सडक सुरक्षाका लागि बाटोमा सवारी बिग्रिएमा दुई घण्टाभित्र किनारा लगाई सुरक्षित ठाउँमा लगिसक्नुपर्ने र सवारी रोकिराखेको अवस्थामा अनिवार्य रुङालो राख्नुपर्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ ।

त्यसैगरी बजार क्षेत्रमा सवारीको हर्न बजाउन निषेध गरिएको छ भने नगरपालिका क्षेत्रभित्र मात्र सञ्चालन हुने व्यावसायिक सिटी रिक्सा र अटोलगायत सवारी तथा ढुवानी साधनमा आबद्ध चालकलार्ई नगरपालिकाले स्थानीय परिचयपत्र जारी गर्ने व्यवस्था गरिएको छ । परिचयपत्र नलिने चालकले नगर क्षेत्रमा स्थायीरूपमा सवारी चलाउन पाउने छैनन् ।

नगरपालिका क्षेत्रभित्र नियमसङ्गत सवारी चलाउने साना र ठूला सवारीका चालकलाई हरेक वर्ष प्रोत्साहनको व्यवस्थासमेत गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

बसपार्कको उपयोगमा जोड

समितिले दमकको बसपार्कलाई उच्चतम सदुपयोग गर्न सार्वजनिक यातायातका सवारी साधन अनिवार्यरूपमा बसपार्कभित्र प्रवेश गराउनुपर्ने व्यवस्था पनि गर्दैछ ।

समितिले हाल बढी भिडभाड रहेका क्षेत्रमा राखिएका ‘लोकल’ तथा ‘ननस्टप’ काउण्टरलाई बसपार्कभित्रै एकीकृत गरी चाप हुने क्षेत्रमा यात्रु ओराल्ने र चढाउन पूर्णरूपमा रोक लगाउने, समितिले तोकेकोे क्षेत्रमा भन्दा अन्यत्र सवारी रोक्ने, यात्रु चढाउने, ओराल्ने गरेमा तोकिएको जरिवाना असूल गरी कारवाही गरिने निर्णय भएको ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज यज्ञप्रसाद शर्मा अधिकारीले बताए।