प्रदेश 2

झापामा चन्दका १७ कार्यकर्ता पक्राउ

सुरुङ्गा । झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

आज बिहान बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय (७, ८ र ९) मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि चन्द समूहले नै विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताए ।

मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । प्रेसर कुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।