समाचार

काँग्रेस प्रवक्ता शर्मा पोर्चुगलमा

पोर्चुगल। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगल आएका छन् ।

नेपाली जनसम्पर्क समिति साइप्रसको कार्यक्रममा सहभागी भई नेता शर्मा आइतबार राति पोर्चुगल आइपुगेका हुन्।

नेता शर्मालाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, महासमिति सदस्य चिजकुमार तामाङलगायत काँग्रेस नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

नेता शर्माले आज लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने मङ्गलबार पार्टीको वर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा यहाँ रहेका काँग्रेस नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।

तीनदिने पोर्चुगल बसाइपछि उनी जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ लाग्ने कार्यक्रम छ ।

प्रवक्ता शर्मासहित नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाही पनि आइतबार नै पोर्चुगल आइपुगेका छन् ।