पर्यटन/संस्कृति

अन्तिम सोमबार बिहानैदेखि पशुपतिलगायत शिवालयमा भक्तजनको भीड

काठमाडौँ। साउन महीनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ । साउनको अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा तीजको जस्तै भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएको थियो । बिहान ११ बजेसम्म अढाई लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको उनले सुनाए । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार स्थानबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

गुह्येश्वरीबाट उमाकुण्ड रुद्रगाडेश्वर हुँदै, मित्रपार्कबाट दक्षिणामूर्ति शङ्कराचार्य मठ पश्चिम मूल ढोका हुँदै, जयवागेश्वरीबाट भुवनेश्वरी दक्षिण मूल ढोका हुँदै र पिङ्गलास्थानबाट चार शिवालय हुँदै दक्षिण मूल ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको हो । अरू दिनमा भन्दा जुत्ताचप्पल कक्ष पनि बढाइएको छ ।

साउनको सोमबार विशेषगरी महिला भक्तजनको भीड बढी देखिन्छ । हरियो र रातो पहिरजनमा सजिएका महिलाको भीडले पशुपतिमा तीजको झल्को दिन्छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । कति भक्तजन भने भजनकीर्तनसहित नाचगान गरेर रमाइलो गरिरहेका छन् ।

पशुपतिनाथ मन्दिरमा मेला व्यवस्थापनलगायत विषयमा आजै दिउँसो सङ्घीय संसद्का दुई समितिले अनुगमन गर्ने कोषले जनाएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुको समूह ३ बजेपछि अनुगमन गर्ने कार्यक्रम रहेको सदस्यसचिव डा ढकालले सुनाए।

यसैगरी मन्त्रालयको कार्यभार सम्हाल्नुभएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि आजै बेलुकी पशुपति क्षेत्रको अवलोकन, अनुगमन एवं दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले यो व्रत गर्ने भनिए पनि पुरुषले समेत व्रत गर्नुपर्ने शास्त्रीय भनाई रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् । साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।

साउनको अन्तिम सोमबार आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड लागेको छ । भोलेनाथ काँवरिया सङ्घको आयोजनामा भएको आजको बोलबममा हजारौँ भक्तजन सहभागी भएका थिए । बोलबम मेला भर्न आइतबार साँझ नै भक्तजन सुन्दरीजल पुगेका थिए । आइतबार साँझ सुन्दरीजल पुगेका भक्तजन रातभर भक्ति सङ्गीत एवं भजनकीर्तन गरी बसेका थिए । राति १२ बजेपछि स्नान एवं जल सङ्कल्प गरी खाली गोडा करीब ११ किमी पैदल यात्रा गरेर पशुपतिनाथ मन्दिरसम्म आएका थिए ।

पैदल यात्रा गर्ने भक्तजनले ठूलो स्वरमा बोलबम भन्दै नारा लगाएका थिए । रातिदेखि नै ठूलो ‘साउन्ड सिस्टम’ मा सङ्गीत बजाउँदा बच्चा एवं वृद्धलगायत सडक छेउमा घर भएका स्थानीयवासीलाई प्रभाव परेको स्थानीयवासी सुशील सिम्खडाले गुनासो गरे।

यसैगरी उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, सन्तानेश्वर, डोलेश्वरलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड छ । साउनको सोमबारको व्रत आज सकिए पनि श्रावण मासमा गरिने भगवान् शिवको पूजा–आराधना भने चन्द्र एवं सौरमासअनुसार यो महीनाभर हुनेछ ।

साउन महीनाभर सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाउने भक्तजनको भीड लाग्छ । सोमबार र शनिबार बढी भीड हुने गरेको छ । पहिले तराईवासी मात्र सहभागी हुने गरेको बोलबम यात्रामा हाल पहाड एवं हिमालवासीको सहभागिता बढ्न थालेको छ ।