लुम्बिनी

तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन ‘हरियाली अभियान’ शुरु

नेपालगञ्ज। नेपालगञ्जमा पछिल्लो समय विकास निर्माणको संरचना विस्तार गर्ने क्रममा यहाँका ठूलाठूला रूखबिरुवाहरु मासिए ।

मुलुकको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचय बनाएको नेपालगञ्जमा सडक कालोपत्र, पक्की नाला, डम्पिङ साइट लगायतका भौतिक पूर्वाधार निर्माणका क्रममा यहाँका रूखबिरुवा मासिए पछि तापक्रम अझ बढ्न गयो ।

यही कुराको ज्ञान भएरै होला अहिले नेपालगञ्जको तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन यहाँ ‘हरियाली अभियान’ शुरु गरिएको छ । सो अभियानअन्तर्गत शहरी विकास मन्त्रालयको पहलमा नेपालगञ्जमा १० हजार ठूला बिरुवा रोपिँदैछ । ‘बृहत् वृक्षरोपण कार्यक्रम’ नाम दिइएको अभियानअन्तर्गत नेपालगञ्जका सडक किनार, ग्रिन बेल्ट क्षेत्र, सरकारी तथा गैरसरकारी कार्यालय परिसर, विद्यालय, उद्योग, प्रतिष्ठान लगायतका क्षेत्रमा कोलकत्ताबाट ल्याइएको रूख रोपिँदैछ ।

रूख रोप्ने अभियान दुई महीनासम्म चल्नेछ । नेपालगञ्ज निवासी सङ्घीय सरकारका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले अभियानको शुभारम्भ गर्दै भने, “नेपालगञ्जमा सडक, नाला बनाउने क्रममा रूखबिरुवा काटेर गरिएको गल्तीको भर्पाइ बिरुवा रोपेर पूरा गरिनेछ ।”

अभियानको शुरुआती चरणमा नेपालगञ्ज सुर्खेत सडकखण्डको राँझादेखि जमुनहासम्म रूख रोप्न थालिएको छ । यो अभियानलाई नेपालगञ्ज उपमहानगरपालिकाले पनि सघाएको छ । “आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियालीयुक्त शहरमा रुपमा विकास गरिने अभियानको उद्देश्य छ”, नगरप्रमुख डा धवलशम्शेर राणा भन्छन्, “अभियानअन्तर्गत नगरको टोलटोलका सडक किनारमा पनि रूखबिरुवा रोपिनेछ ।”

नेपालगञ्जलाई हरियालीयुक्त शहर बनाउन थुप्रै चुनौती पनि छन् । नगरका अधिकांश साँघुरा बस्तीमा रूख रोप्ने ठाउँ नै बाँकी नराखी बनाइएका सडक, नालाका कारण अभियानले सोचेजस्तो परिणाम दिन सक्ला जस्तो देखिँदैन । “हामी त्यसको पनि कुनै विकल्प खोज्छौँ, ठूलो रूखको सट्टा स–साना बोटबिरुवा त्यस्ता बस्तीहरुमा लगाइनेछ”, नगरप्रमुख राणाले भने ।

अर्कोतर्फ नेपालगञ्ज नगरपालिकाले एक घरले कम्तीमा एउटा बिरुवा रोप्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, घर निर्माण गर्ने क्रममा यो व्यवस्थालाई त्यति कडाइसाथ नगरपालिकाले पालना गराएको भने पाइँदैन । नगरप्रमुख राणा भने, “यसको हामीले सूक्ष्म अध्ययन गरिरहेका छाँै । यसको पालना नगर्नेलाई नगरपालिकाको सेवासुविधावाट वञ्चित गर्नेछ ।”

बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि, वातावरण प्रदूषण, रूखबिरुवाको जथाभावी कटान र सवारी साधनको धुवाँ जस्ता कारण नेपालगञ्जको तापक्रम वृद्धि हुँदै गएको छ । जसका कारण नेपालगञ्जमा अहिले अत्यधिक गर्मी बढेको अनुभूति गरिएको छ । यिनै कुरालाई दृष्टिगत गरी यो हरियाली अभियान सबै नेपालगञ्जवासीको साझा सवाल बन्न आवश्यक छ ।