लुम्बिनी

पाल्पाका चार स्रष्टा सम्मानित

बेझाड । पाल्पाका चार स्रष्टा सम्मानित भएका छन् । नारी उन्नयन तथा विकास प्रतिष्ठान पाल्पाले शिक्षा, स्वास्थ्य, साहित्य र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप चार स्रष्टालाई सम्मान गरेको हो ।

प्रतिष्ठानको चौथौ वार्षिक समारोहमा शनिबार वरिष्ठ साहित्यकार तथा शैक्षिक व्यक्तित्व चोलेश्वर शर्मा, पाल्पा साहित्य समाजका पूर्व अध्यक्ष राजेन्द्रगोपाल सिंह स्वास्थ्यकर्मी पवित्रा खनाल र महिला उद्यमी तथा समाजसेवी पूर्णमाया महर्जनलाई सम्मान गरिएको हो ।

सिर्जनामार्फत समाजलाई सकारात्मक बाटोमा डोर्‍याउने साहित्यका पहरेदार व्यक्तिको कामलाई सम्मान र कदर गर्दै उनीहरुको लेखन क्षेत्रमा थप हौसला पुगोस् भनेर सम्मान गरिएको प्रतिष्ठानका सदस्य शकुन्तला घिमिरेले बताए ।