अन्तर्राष्ट्रिय

तान्जानियामा तीन दिने राष्ट्रिय शोक घोषणा

दार एस सलाम । तान्जानीयामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटन भएर कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति जोन मागुफुलीले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । उक्त बिस्फोटमा अरु ७० जनाभन्दा बढी घाइते भएका थिए ।

आइतबार बिहानै जारी गरिएको वक्तव्यमा तान्जानियाको मोरोगोरोमा शनिबार भएको दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा राष्ट्रिय शोक घोषणा गरिएको उल्लेख छ ।

राष्ट्रपतिको कार्यालयका संचार निर्देशकद्वारा जारी वक्तव्यका अनुसार सरकारले शनिबार, आइतबार र सोमबार शोक मनाइने भएको छ ।
“शोक मनाइरहेका बेला राष्ट्रिय झण्डा आधा झुकाइनेछ,” वक्तव्यमा लेखिएको छ ।

राष्ट्रपतिले आफ्नो प्रतिनिधिका रुपमा प्रधानमन्त्री कास्सीम माजालिवालाई घटनास्थल मोरोगोरो पठाउने पनि जानकारी दिएका छन् ।  । घटनास्थल राजधानी दार एस सलामदेखि झण्डै २०० किलोमिटर टाढा पर्दछ ।

शनिबार राति प्रहरी अधिकारीहरुले मृत्यु हुनेको संख्या ६४ पुगेको जनाएका छन् । अन्य केही संचार माध्यमले पनि मृत्यु हुनेको संख्या ६४ पुगेको लेखेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुको भनाइ छ ।