प्रदेश 1

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

बनियानी। झापा हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना पैदलयात्रीको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नं को मोटरसाइकलले गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा तामाङसहित मोटरसाइकल चालक विर्तामोड–३ का ४५ वर्षीय देवबन्धु उप्रेती र मोटरसाइकलमा सवार १३ वर्षीय राकेश ठाकुर घाइते भएका थिए । घाइतेमध्ये उप्रेती र ठाकुरको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच झापाको भद्रपुर नगरपालिका–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमनको पोखरीमा डुबेर मृत्यु भएको छ । घरबाट शनिबार दिउँसो १ बजे हिँडेका बालक बेलुकासम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा राति करीब ८ः३० बजे विष्णु कन्स्ट्रक्सनको माछा पोखरीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालकको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको छ ।