अन्तर्राष्ट्रिय

भेनेजुएलालाई क्युबाली राष्ट्रपतिको समर्थन

हवाना । क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले अमेरिका समेतका पश्चिमी मुलुकको बहिस्करणमा परेको भेनेजुएला सरकारमाथि पुनः समर्थन जनाएका छन् ।

राष्ट्रपति डायाजले अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको प्रतिष्ठा र क्षमतालाई कसैले होच्याउन नसक्ने बताएका छन् ।

राष्ट्रपतिले शनिबार गरेका ट्वीटमा भनिएको छ, “भेनेजुएलाका जनताको बोलिभार क्रान्तिकारितालाई कुनै पनि बाह्य शक्तिले तोड्न सक्दैन ।”

दुई हप्ताअघि क्युबाका राष्ट्रपति डायाजले भेनेजुएलाको भ्रमण गरेका थिए । साओ पाउलो फोरमको २५औं बैठकमा सहभागी हुन भेनेजुएला पुगेका राष्ट्रपति डायाजले भेनेजुएलाको संवैधानिक सङ्कट विदेशीको उक्साहटमा भएको बताएका थिए ।

उक्त बैठकमा राष्ट्रपति डायाजले क्युबाले भेनेजुएलाप्रतिको आफ्नो अडान र विश्वास कहिल्यै नत्याग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाले विपक्षी नेता हुवाँ गुएइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएपछि भेनेजुएलाले अमेरिकासँगको कुटनीतिक सम्बन्ध गत जनवरीमै तोडेको थियो ।