सुदूरपश्चिम

विपन्न र दलित महिलालाई खाद्य सामग्री वितरण

डोटी। जिल्लाको शिखर नगरपालिका–१ ले आफ्नो वडाभरि भएका विपन्न तथा दलित महिलालाई खाद्य सामग्री वितरण गरेको छ । आज एक कार्यक्रम आयोजना गरी वडामा आर्थिक अवस्थाले कमजोर परिवारका १८ महिलालाई ५० केजी चामल, नुन, तेल, मसलालगायतका खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए ।

उनले भने, “लक्षित वर्गका महिलाका लागि वडा कार्यालयले छुट्याएको रु दुई लाख रकममा २० महिलालाई हामीले दुईमहीने कम्प्युटर पढायौँ, त्यसबाट बचेको पैसाले विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका हौँ ।” वडा कार्यालयले निःशुल्करूपमा खाद्य सामग्री उपलब्ध गरएपछि अहिले सो वडाका स्थानीयवासी तथा विपन्न परिवारहरु निकै खुशी भएका छन् ।

बिहान–बेलुकीको छाक टार्नसमेत धौधौ पर्ने विपन्न परिवारलाई खाद्य सामग्रीमा चामल मिलेपछि अहिले उनीहरुको चुल्होमा खाना पाक्न थालेको स्थानीय करन ऐरले बताए। उनले भने, “विपन्न परिवारलाई के खाने भन्ने चिन्ता थियो, वडा कार्यालयले खाद्य सामग्री दिएको छ, एक महीनासम्म गरीबका घरमा भात पाक्ने भयो ।”

त्यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका–५ मा आर्थिकरूपमा विपन्न भएका दलित तथा अन्य विपन्न परिवारलाई समविकास केन्द्र (इडिसी)डोटीले उन्नत जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकामा रहेका आर्थिक अवस्थाले अति विपन्न भएका परिवारलाई जनही दुई बाख्रा वितरण गरिएको छ ।

जिल्लामा कार्यरत समविकास केन्द्रले निःशुल्करूपमा उन्नत जातका बाख्रा वितरण गरेको हो । उक्त गाउँपालिकाले छनोट गरेको अतिविपन्न परिवारलाई रु ११ लाख ३७२ को १६० बाख्रा निःशुल्करूपमा वितरण गरिएको केन्द्रका अध्यक्ष अधिराज बिसीले जानकारी दिए।

निःशुल्करूपमा उन्नत जातका बाख्रा पाएपछि स्थानीय विपन्न समुदायकका व्यक्ति निकै खुशी भएको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । उनले भने“गाउँपालिकामा भएका विपन्न परिवारलाई बाख्रालगायत अन्य पशु किन्नसमेत मुस्किल थियो, हाम्रो पहल र संस्थाको सहयोगमा बाख्रा पाएपछि खुशी भएका छन् ।”

यसअघि जिल्लाका दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकाले आफनो क्षेत्रमा भएका विपन्न परिवार तथा एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरेको थियो । निःशुल्क बाख्रा पाएपछि सो क्षेत्रका स्थानीयवासी अहिले निकै खुशी हुनुका साथै व्यावसायिक रुपमा बाख्रापालनमा लागेका छन् ।