समाचार

स्वतन्त्र र निष्पक्ष न्याय एक्लो प्रयासले हुँदैनः प्रधानन्यायाधीश जबरा

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माणका लागि अदालतको एक्लो प्रयासले मात्र नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीनदिने गोष्ठीको उद्घाटन समारोहमा उनले स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि सरोकारवाला पक्षसँगको सहकार्य जरुरी भएको बताए ।

प्रधानन्यायाधीश राणाले गत भदौदेखि मुलुकी (देवानी) र मुलुकी (फौज्दारी) कार्यान्वयनमा आएर एक वर्षको अनुभव लिइसेकेको उल्लेख गर्दै आगामी दिनमा अभ्यासमा अझ बढी निखार हुँदै जाने विश्वास व्यक्त गरे । उनले निजी अन्तर्राष्ट्रिय कानून, करार कानून र दुस्कृति विषयमा तीनदिने गोष्ठीले अभ्यासका लागि धेरै ज्ञान मिल्ने उल्लेख गरे ।

नेपाल बार एशोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानूनका विभिन्न विषयमा बेलाबेलामा हुने यस खालका गोष्ठीले कानूनको अध्ययन र अभ्यासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीले निजी अन्तर्राष्ट्रिय कानून, करार र दुस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय र राष्ट्रिय अभ्यासका विषयमा छलफल गरिने जानकारी दिए ।

गोष्ठीमा सर्वोच्च अदालत न्यायाधीश, सातै प्रदेशमा मुख्य न्यायाधिवक्ता, कानून व्यवसायीको सहभागिता रहेको छ । नेपालमा गत वर्षदेखि मुलुकी(देवानी) र मुलुकी (फौज्दारी)को कार्यान्वयनका अवस्था र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा छलफल हुनेछ ।