शिक्षा

श्रेष्ठ दम्पतीद्वारा शैक्षिक अक्षयकोष स्थापना

बागलुङ। बालबालिकाको पढाइमा सघाउने उद्देश्यले यहाँका एक दम्पतीले शैक्षिक अक्षयकोष स्थापना गरेको छ । बागलुङ बजार निवासी व्यवसायी कमलप्रसाद श्रेष्ठ र उनकी श्रीमती सिर्जनाले रु दुई लाखको ‘कमल–सिर्जना श्रेष्ठ शैक्षिक कोष–२०७६’ घोषणा गरेका हुन् ।

अक्षयकोष नेपाल भाषा मंका खलः बागलुङमार्फत सञ्चालन हुनेछ । कोषबाट आउने ब्याजबाट वर्षेनी दश नेवार समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिने भएको छ । मंका खलःबाट आएको कोषको प्रस्तावलाई आफूहरुले स्वीकार गरेको श्रेष्ठ दम्पतीले बताएको छ ।

“आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको पठनपाठनमा सघाउने गरी अक्षयकोष खडा गरेका हौँ” कोषका संस्थापक कमलप्रसादले भने। कोषबाट सोमबार १० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।

मंका खलःले शिक्षासँगै कला, संस्कृतिलगायतका क्षेत्रमा पनि अक्षयकोष स्थापनाका लागि पहल गरिरहेको छ ।