लुम्बिनी

अज्ञात समूहद्वार गाउँपालिकाको गाडीमा आगजनी

घोराही। दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ ।

सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिए । बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो ।

आगलागी भएको जानकारी पाउनासाथ आगो नियन्त्रण गर्न र घटना बुझ्न इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी खटिएको थियो । सो आगो प्रहरी टोली र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

सो घटना कसले र किन गराएको भन्ने खुल्नमा नआए पनि घटनाको प्रकृति हेर्दा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको र सो विषयमा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । अहिले त्यहाँ प्रहरी परिचालन गरी घटना बुझ्ने काम भइरहेको पनि उनले बताए ।