उर्जा

उचित संरक्षण नहुँदा विद्युत् उपकरण चोरी हुँदै

डोटी । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् । विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् पावरहाउसमा विसं २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पुर्याएपछि अहिले सो पावरहाउस बेवारिसे अवस्थामा रहेको छ ।

पावरहाउस बेवारिसे भएपछि अहिले त्यहाँ रहेका विद्युत्का महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताएका छन । उनले भने पहिरोले सामान्य क्षति पुर्याएको पावरहाउस मर्मत नगर्दा बेवारिसे बनाइयो, अहिले सामान चोरी हुँदैछ, कसैले वास्ता गरेका छैनन् ।

बाढीपहिरोले पावरहाउसको पेनस्टक पाइप तथा पावरहाउसमा केही क्षति पुर्याएपछि अहिलेसम्म सो पावरहाउसको मर्मतकार्य नगरिँदा र पावरहाउसमा कर्मचारीसमेत नबस्दा सामान दिनहुँ चोरी हुन थालेको पावरहाउससँगै जोडिएको शिखर नगरपालिका–१ खातीगाउँका स्थानीयवासी खड्क खातीले बताएका छन ।

उनले भने पावरहाउसमा कोही पनि बस्दैनन्, राम्रा र महङ्गा सरसामान कवाड हुँदैछन भने कयौं सामान चोरी हुन थालेका छन् । डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख बुद्धिनाथ झाले बाढीपहिरोले क्षति पुर्याएको सो पावरहाउस मर्मत गरेर विद्युत् सञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताएका छन ।

उक्त पावरहाउस पुनःनिर्माण गरी विद्युत सञ्चालन नगरिँदा डोटीमा अहिले दिनहुँजसो लोडसेडिङ हुन थालेको छ । दार्चुलाको बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् निर्माण भएपछि सुदूरपश्चिम लोडसेडिङमुक्त घोषणा गरिए पनि आन्तरिकरूपमा विद्युत्मा आउने खराबीका कारण यहाँ दैनिकरूपमा लोडसेडिङ हुन थालेको विद्युत् कर्मचारी बताउँछन् ।
उक्त पावरहाउसमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरले चोरेर बिक्री गरिसकेको बताइएको छ ।

कसले चोर्दैछ त ती उपकरण भन्ने बारेमा न विद्युत् कार्यालयलाई जानकारी छ न नजिकैको सुरक्षाकर्मीलाई । धमाधम विद्युत्का सामग्री चोरी हुँदासमेत स्थानीय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको आरोप स्थानीयवासीको छ ।
डोटी साना जलविद्युत् केन्द्र दिपायलका प्रमुख बुद्धिनाथ झाले विद्युत् उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरूपमा अनुसन्धान तथा जानकारी लिने काम भइरहेको बताएका छन ।