अन्तर्राष्ट्रिय

किमले क्षेप्यास्त्र परीक्षणप्रति ‘सानो क्षमायाचना’ गरेको ट्रम्पको दावी

वासिङ्टन । हालै गरिएका क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाली सर्वोच्च नेता किम जङअनले सामान्य क्षमायाचना गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन् ।

किमले अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासको अन्त्यसँगै आणविक निशस्त्रीकरणका लागि अमेरिकासँग वार्ता शुरूगर्ने बताएका पनि अमेरिकी राष्ट्रपतिले बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटरमार्फत सम्प्रेषित सन्देशमा किमले आफूलाई एक पत्रमार्फत् क्षेप्यास्त्र परीक्षणबारे उक्त अभिव्यक्ति दिएको जनाइएको हो । त्यस्तै ट्रम्पले पनि पत्रको जवाफमा किमसँग निकट भविष्यमा वार्ता गर्ने पत्रमार्फत जानकारी गराएको सन्देशमा उल्लेख छ ।

ट्रम्पले भन्का छन्, “मलाई किमले लेखेको चिठीमा उत्तर कोरियाली नेता किमले आफूले ट्रम्पसँग अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास सकिएलगत्तै छिट्टै भेट्न चाहेको र वार्ता शुरू गर्न चाहेको उल्लेख छ ।”

“पत्र लामो छ र यसमा धेरै बिषय बेतुकको र महङ्गो सैन्य अभ्यासको विरोधमा व्याख्या गरिएको छ । यो उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र परिक्षण गरेकोमा एउटा सानो क्षमायाचना पनि हो । संयुक्त सैन्य अभ्यास रोकिएसँगै हतियार परीक्षण पनि रोकिनेछ,” ट्रम्पको सन्देशमा लेखिएको छ ।