शिक्षा

शिक्षामा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

कास्की । जोर्ज जोन शिक्षा प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानको २३औँ वार्षिकोत्सवको अवसरमा आज पोखरामा शिक्षासेवीहरुलाई सम्मान तथा उत्कृष्ट विद्यार्थी छात्रवृत्ति वितरण गरेका हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने तनहुँ खैरेनीटारका केशवराज घिमिरे, पोखरा–१३ निवासी विश्व सिग्देल, म्याग्दीका दीपक श्रेष्ठ, पोखरा–१९ निवासी मदनबहादुर केसी र पोखरा–२ बस्ने चन्द्रदेवी उदास शाहलाई मुख्यमन्त्री गुरुङले सम्मान गरे ।

त्यसैगरी पृथ्वीनारायण क्याम्पस मानविकी सङ्काय स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुन सफल कृष्णप्रसाद आचार्य, विज्ञान सङ्काय लोकराज घोडासैनी, व्यवस्थापनका स्मिता पुर्जा पुन र शिक्षा सङ्कायका वसन्त परियालाई छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाले जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले जात, धर्म, भूगोल र विचारको सीमालाई तोडेर जोर्ज जोन सर उहाँको म्याडमले नेपाली र पोखरेलीका लागि सेवा गरेको बताउँदै मुख्यमन्त्री गुरुङले उनीहरुलाई प्रदेश सरकारले उपयुक्त समयमा सम्मान गर्ने बताए ।

निर्वाचित जनप्रतिनिधिहरुको पारिश्रमिकका बारेमा संविधानमा विभेद गरिएको बताउँदै मुख्यन्त्री गुरुङले राज्यको स्रोतसाधनमा निर्वाचित सम्पूर्ण सार्वभौम प्रतिनिधिको समान हक रहने भएकाले प्रदेश सरकारले ऐनमा संशोधन गरेर नगर र गाउँ कार्यपालिका सदस्यहरुको पनि सुविधा समान गरेको उल्लेख गरे ।

प्रतिष्ठानका सचिव एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले जोन सरले शैक्षिक जागरण र सामाजिक परिर्वतनको अभियानमा निःस्वार्थ ढङ्गबाट गरेको कामको सम्मानस्वरुप प्रतिष्ठान स्थापना गरी वर्षेनी शिक्षा क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मानलगायतका कार्यक्रम गरिएको बताए ।

जोर्ज जोनले विगत ५९ वर्षदेखि पोखरेलीको मायाले गर्दा आफू यहाँ बसिरहेको बताउँदै बुढ्यौली समयलाई अध्ययनमा बिताएको बताए । भारतको केरलामा जन्म भई विसं २०१७ मा पोखरा आउनुभएका जर्ज जोनले त्यसयता निरन्तर यहाँको शैक्षिक उन्नयनमा योगदान दिएका छन् ।