देश

बालीमा झल्किएको नेपाली कला

काठमाडौँ । शहरलाई सिँगार्न कलाको कति महत्व हुन्छ भन्ने कुरा इण्डोनेशियाको बालीले प्रष्ट्याउँछ । चोकचोकमा देखिएका भीमकाय मूर्तिहरुले जोकोहीलाई प्रफुल्लित बनाउँछ । कलाकार एनबी गुरुङले भने, “त्यो देख्दा खुला सङग्रहालयझैँ लाग्ने, बाली जिउँदो कलाको अनुपम उदाहरण हो ।”

त्यही कलाले सिङ्गारिएको इण्डोनेशियाको पर्यटकीय नगरी बालीमा गएको हप्ता भएको अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा नेपाली कलाकारले दरिलो उपस्थिति देखाएका छन् । ४० देशका कलाकारसामु नेपाली चित्रकारले उक्त महोत्सवलाई नेपाली कला र संस्कृति विश्वसामु चिनाउने अवसरको रुपमा सदुपयोग गरे ।

सही सोच र व्यवस्थापन गर्ने हो भने नेपालका शहर पनि कोहीभन्दा कम नहुने भन्दै कलाकारहरुले आफ्नो संस्कृति विश्वसामु चिनाइरहँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सिक्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् ।

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष गुरुङले थपे, “नेपाल पर्यटन बोर्डबाट पर्चाहरु लिएर गएका थियौँ, एक त हामीले कलामार्फत नेपाली संस्कृतिलाई चिनाउने प्रयास गर्‍यौँ, अर्को नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा नेपालको पर्यटन प्रवद्र्धनका लागि महोत्सवलाई भरपुर उपयोग गर्‍यौँ ।”

गएको हप्ता बाह्य कला क्षेत्रको प्रत्यक्ष अनुभव गर्न नेपाली कलाकारको टोली इण्डोनेशियाको पर्यटकीय शहर बाली पुगेको थियो । जलरङ्ग महोत्सवमा भाग लिएर स्वतफूर्तरुपमा नेपाली टोलीले कलामार्फत नेपाललाई विश्वसामु चिनाउने प्रयास गरेका थिए । विश्वका कलाकारबीच नेपालीको पहिचान स्थापित गराउने प्रयास गरेको बताउँदै कलाकार डिबी राईले स्थलगतरुपमै नेपाली चित्र बनाएर प्रदर्शनसमेत गरेको उल्लेख गरे ।

हिमालपारिको जिल्ला मुस्ताङको ‘झारकोट’ आफैँमा सुन्दर छ । यहाँको दृश्यले जो कोहीलाई लोभ्याउँछ । त्यही दृश्यलाई कलाकार एनबी गुरुङले बालीस्थित क्यान्भासमा उतारेर नेपाली सौन्दर्यलाई विश्वसामु परिचित गराए ।

उक्त चित्र उत्कृष्ट लागेर फिलिपिनी कला पारखी सिसिल स्प्रितुले झण्डै नेपाली रुपैयाँ २४ हजार (स्थानीय २८ लाख) मा किने । कलाकार राईले उतारेका काठमाडौँस्थित असन इन्द्रचोकको दृश्यलाई सिहान फर्निडेले नेपाली रुपैयाँ ४२ हजारमा खरीद गरे ।

चित्रकारको टोलीले बालीस्थित ऐतिहासिक धरोहर, मठमन्दिर तथा मनोरम स्थानलाई आफ्नो क्यानभासमा उनेरसमेत ल्याएका छन् । नेपाली कलाकार जुन–जुन ठाउँमा कार्यक्रम गरे पनि नेपाली कला र पर्यटनलाई प्रचारात्मक रूपमा जोडेर काम गरेको कलाकार राईले बताए ।

उक्त महोत्सवमा नेपालबाट एनबी गुरुङ, दिपेन्द्रमान बनेपाली, केशवराज खनाल, भीम श्रेष्ठ, डिबी राई, विपना महर्जन, विनोदकुमार गुप्ता, बाबु साइला, सुदीप आले, कान्छाकाजी भाषीमा र सपना शाह सहभागी भएका थिए । कलाकारले नेपाली ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा रहनसहनका चित्र प्रदर्शनमा राखेका थिए ।

चित्रकारले नेपाली कलाको प्रवद्र्धन गर्दै कला पर्यटनको विकासका लागि विभिन्न देशमा पुगेर कार्यक्रम गर्दै आएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य कलाकारहरु विभिन्न देशमा गएर चित्र बनाउँदा र विदेशी कलाकारहरु नेपालमा आएर काम गर्दा आपसमा संस्कृतिको आदान–प्रदानसँगै कला पर्यटन विकासमा टेवा पुग्ने र आपसी सम्बन्ध थप मजबुत हुने बताउँछन् ।

कलात्मक साधनस्रोतले नेपाल कमजोर छैन । तर, पनि यहाँका शहर अस्तव्यस्त देखिन्छ । कलाले नै देशमा महत्व बढाउँछ भन्ने कुरा बालीबाट सिक्न सकिने कलाकारले बताएका छन् ।