समाचार

बोटे बस्तीमा मुख्यमन्त्रीको अवलोकन

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पछाडि परेका तथा सिमान्तकृत वर्गको संरक्षणमा प्रदेश सरकार सधैँ लागिपर्ने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको निर्माणाधीन एकीकृत बोटे बस्तीको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले सीमान्तकृत जातिको संरक्षणमा मनहरी गाउँपालिकाले देखाएको सक्रियताका लागि धन्यवादसमेत दिए ।

मुख्यमन्त्री पौडेलले सीमान्तकृत जातजातिको संरक्षणमा सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको धारणा राखे । मनहरी गाउँपालिकाले माछा मारी जीविकोपार्जन गर्दै आएका बोटे समुदायका लागि प्रदेश सरकारको सहयोगमा एकीकृत बस्ती निर्माण गरेर घरवास (होमेस्टे)का रुपमा विकास गर्ने योजनाअनुसार अगाडि बढाइरहेको काम अवस्था अवलोकन गर्न मुख्यमन्त्री पौडेल एकीकृत बस्ती पुगेका हुन् ।

यसैबीच मुख्यमन्त्री पौडेलले मनहरीको कृषि क्षेत्रको समेत अवलोकनको क्रममा कृषकले तरकारी खेतीमा गरेको प्रगतिको प्रशंसा गर्दै विषादीरहित उत्पादनमा जोड दिन अनुरोध गरे । मुख्यमन्त्री पौडेलसँगै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।