कर्णाली प्रदेश

कर्णालीको परिचय लिएर सम्मेलनमा भाग लिँदै युवा

सुर्खेत । काठमाडौँमा यही साउन २७ देखि ३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’मा कर्णालीका युवा यहाँको परिचय लिएर सहभागी हुने भएका छन् । नेपाल युवा परिषद् कर्णाली प्रदेशले आज पत्रकार सम्मेलनमार्फत् कर्णालीको रैथाने खाद्यान्न, मौलिक तथा साँस्कृतिक सामग्री र पर्यटनका आकर्षक गन्तव्यका परिचय बोकेर यहाँका २४ जना युवा सम्मेलनमा सहभागी हुने जानकारी दिएको हो ।

सम्मेलनमा १८ देखि ३० वर्षका महिला र पुरुष समावेश हुने युवा परिषद् कर्णाली प्रदेशका संयोजक ईन्द्रजित सुनारले बताए । “यहाँ उत्पादन हुने रैथाने खाद्यान्नमा फाँपर, सिमी, कालीमार्सी धान, चिनो, जौ, कागुनो, उवा, लट्टे लिएर जान्छौं,” उनले भने, “साँस्कृतिक सामग्रीमा सिमल, उत्तीस र टुनी काठबाट बनेका पिर्का, खटिया, मधुस, कोशी, बटुको, मदानीजस्ता सामग्री सम्मेलनमा प्रदर्शन गर्छौं ।” त्यस्तै, परिचयसहितको कर्णालीका पर्यटकीय गन्तव्य पनि प्रदर्शन गरिने संयोजक सुनारले बताए ।

यसैगरी हिमाली चिया, चिराइतो, दाल, स्याउको चिप्स, सिस्नुको साग, मह, भागोको तेल, चौंरीको छुर्पी, टिमुर, निखुरो, जिम्मुको महत्व पनि सम्मेलनमा दर्शाइने छ । ‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय दिवसका अवसरमा हुन लागेको राष्ट्रिय युवा सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२०, लैगिङ्क समानता, दिगो विकासका लक्ष्य, युवा नेतृत्व र युवा उद्यमशीलता मुख्य विषयमा बहस हुने उनले बताए ।

सम्मेलनमा प्रत्येक प्रदेशका सहभागीले कार्ययोजना तयार गरी त्यसबाट प्राप्त हुने सुझाव समेटेर ‘काठमाडौं घोषणापत्र २०१९’जारी गरिने उनको भनाइ छ । उनका अनुसार सम्मेलनमा ७७ जिल्लाका एक महिला र एक पुरुष एवं ५० जना विभिन्न सामािजक सङ्घ।सङ्घसंस्था, समुदाय र वर्गगरी २०४ जनाको सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनमा सम्मेलनमा सहभागि हुने ममता अधिकारीले कर्णाली बोकेर सम्मेलनमा भाग लिने र सहभागीलाई बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय, बहुधार्मिकसहित प्राकृतिक रुपले विविधतायुक्त कर्णाली प्रदेश भ्रमणको निम्तो दिएर आउने बताए । युवा खगेश्वर मल्लले मुलुकको अर्थतन्त्र बलियो बनाउने आधार धार्मिक, साँस्कृतिक, कृषि, खेल र पर्यापर्यटन भएकाले यसको सन्देश सम्मेलनमार्फत फैलाउने प्रतिक्रिया दिए ।

राष्ट्रिय सम्मेलनबाट जारी ‘काठमाडौँं घोषणापत्र २०१९’ काठमाडौंबाट फर्केर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाउने र अबका दुई महीनाभित्र ‘कर्णाली युवा सम्मेलन’ सम्पन्न गर्ने नेपाल युवा परिषद् कर्णाली परिषद्ले जनाएको छ ।