समाचार

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा वाग्मतीमा सफाइ अभियान

काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवाहरु वाग्मती नदी किनारमा जम्मा भई सफाइ अभियानमा जुटेका छन् ।

वाग्मती सफाइ महाअभियानको ३२६ औँ हप्ताको कार्यक्रममा युवाहरुले अन्तर्राष्ट्रिय दिवस मनाए । राष्ट्रिय युवा परिषद्को आह्वानमा जम्मा भएका युवाले नदी सफाइ गर्नुका साथै जनचेतनामूलक अभियानलाई देशव्यापी बनाइनुपर्नेमा जोड दिएका थिए । वाग्मती र रुद्रमतीको दोभान बुद्धनगरमा भएको सफाइमा ४०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

परिषद्ले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ‘शिक्षामा रुपान्तरणः उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नारासाथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेको छ । तीनै वटा सुरक्षा निकाय सहित दुई दर्जन बढी संस्थाको सहभागितामा भएको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । कार्यक्रममा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल लगायत अभियानकर्मीको सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २८८ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका वडा नं.५ जम्बुडाँडा क्षेत्रमा सफाइ गरी एक गाडी फोहर व्यवस्थापन गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजनामा भएको सफाइमा २५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । घरबाट निस्कने कुहिने फोहरलाई आफैँ व्यवस्थापन नगर्नेलाई यस क्षेत्रको सफाइमा नआउन आग्रह गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए ।

रुद्रमती सफाइको २८० औँ हप्तामा रुद्रपनेकु पुलबाट रातोपुलसम्म सफाइ गरी दुई गाडी फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं.३० का अध्यक्ष दलबहादुर कार्की सहित २०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिए ।

विष्णुमती सफाइको २५३ औँ हप्तामा टोखा नगरपालिका वडा नं.११ गणेशस्थानबाट बानियाँटार पुलसम्म सफाइ गरियो । सफाइका क्रममा वडा कार्यालयको ७७ प्रतिशत लगानी र उपभोक्ताको २३ प्रतिशत लगानीमा डष्टविन र कम्पोष्टविन दिने घोषणा गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

डष्टविन र कम्पोष्टविन दिएपछि पनि फोहर व्यवस्थापन नगर्नेलाई कानूनी कारबाहीको दायरमा ल्याउने घोषणा वडा अध्यक्ष उत्तम अधिकारीले गरे । सफाइमा वडा अध्यक्ष अधिकारीका साथै वडा सदस्य तारा कँडेल लगायत २२५ भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

मनोहरा सफाइको १२५ औँ हप्तामा जडिबुटी चोकमा सफाइ गरी तीन गाडी फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी लगायत स्थानीयवासीको उल्लेख्य सक्रियता रहेको सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

चक्रपथ वाफल खण्ड सफाइको १०४ औँ हप्तामा सीतापाइला चोकबाट वाफलसम्म सफाइ गरियो । २०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट दुई ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

यसैगरी चक्रपथको उत्तरी खण्ड, आलोकनगर, तिलगङ्गा, सुन्दरीघाट लगायत क्षेत्रमा पनि सफाइ अभियान जारी छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले देशभर सफाइ जागरण ल्याएको छ ।