पर्यटन/संस्कृति

‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बर्दियामा नयाँ होटल सञ्चालन गरिने

धम्बोझी । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बर्दियामा नयाँ रिसोर्ट होटल सञ्चालनमा आउने भएको छ । बर्दियामा पाटे बाघ, गैँडा र हात्तीहरु हेर्न देशी–विदेशी पर्यटक आउने क्रम बढेसँगै होटल र रिसोर्ट पनि धमाधम निर्माण भइरहेका छन् ।

भ्रमण वर्षलाई लक्षित गर्दै बर्दियाको मधुवन नगरपालिका–१ स्थित पत्थरबोजीमा करीब दुई बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालनमा आउन लागेको हो । करीब रु १० करोडको लागतमा निर्माणाधीन यस रिसोर्ट सन् २०२० को जनवरीदेखि सञ्चालनमा आउने भएको हो ।

भ्रमण वर्षलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको युटोपियन अप्लन्स नेपाल प्रालिद्वारा निर्माण हुँदै गरेको गेरुवा रिभरसाइड रिसोर्टका प्रबन्धक कुमार खड्काले बताए । गेरुवा रिभरसाइट रिसोर्ट बर्दिया राष्ट्रिय निकुञ्ज र खाता कोरिडोर पनि नजिकै पर्ने भएकाले आगन्तुकको रोजाइमा रहने खड्काले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज स्थानमा निर्माण कार्य तीव्र गतिमा भइरहको छ । भ्रमण वर्षलाई लक्षित गरेर नै यस क्षेत्रमा होटल र रिसोर्टहरु निर्माण कार्यहरु यस क्षेत्रमा भइरहेका छन् । बर्दिया निकुञ्ज र आसपासका दर्जन बढी पर्यटकीय गन्तव्यले पर्यटक लोभ्याइरहेका हुन्छन् । पाटे बाघ अवलोकनका लागि यस निकुञ्जलाई देशमा मात्र होइन, विश्वमा नै प्रसिद्ध मानिन्छ । यस क्षेत्रमा थारु बाहुल्य रहेकाले यस संरक्षित क्षेत्रभन्दा बाहिर थारु संस्कृतिको सम्पूर्ण झल्को समेत देख्न पाइन्छ ।

निकुञ्ज र आसपासका क्षेत्रमा पाटे बाघसँगै एकसिङ्गे गैँडा र हात्तीहरु दैनिकजसो देखिन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया पर्ने गरेको छ । निर्माणाधीन होटलमा स्थानीय परिकार साथै थारु खानाका परिकारका साथ टेन्ट क्याम्प्प, ¥याफ्टिङको समेत सुविधा रहने उनले बताए ।

पाटे बाघ र हात्तीको ‘हव’ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा आगन्तुकको सङ्ख्या बढेसँगै यस क्षेत्रमा होटल निर्माण कार्यहरु हुने क्रम तीव्र रहेको छ । आगामी वर्ष नेपाल भ्रमण वर्ष पनि रहेकाले पर्यटकको सङ्ख्या बढ्ने विश्वास होटल व्यवसायी रामजी थापाको रहेको छ ।

बर्दिया विस्तारै चितवनको विकत्प हुँदै गइरहेकाले चितवनका जस्ता कङ्क्रिट भवनको सट्टा अबका दिनमा होटल तथा रिसोर्ट निर्माण हुँदा स्थानीय मौलिकता झल्किने किसिमको हुनुपर्ने थापाले बताए । उनी भन्छन्, ‘‘बर्दिया घुम्न आउने पर्यटक भवन हेर्न होइन, यहाँको कला, संस्कृति र प्राकृतिक सम्पदाहरुको अवलोकन गर्न आउँछन् । चितवनको गल्ती हामीले दोहोर्‍याउन हुँदैन ।’’

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ८७ वटा वयस्क पाटे बाघ रहेको छ र बाघ हेर्न आउने ९० प्रतिशतले बाघ देख्ने गरेकाले यस क्षेत्रमा बाघ हेर्न आउने पर्यटक निरास भएर फर्किन नपर्ने होटल व्यवसायी थापाको भनाइ छ । थारु संस्कृति पनि पर्यटक आकर्षण गर्ने अर्को यहाँको सम्पदा भएकाले त्यसको संरक्षण र बजारीकरण गर्न सक्नु पर्ने सम्बद्ध पर्यटन व्यवसायीहरुको धारणा छ ।