विचार/ब्लग

हिरोशिमा–नागासाकी मानव संहार, सम्झनाको एउटा अद्भूत संयोग

अरविन्द रिमाल/टोले देशभक्ति गाथा लेखिसकेर र नेपाल सांस्कृतिक संघको चर्चा गरिसकेर ती दुबैलाई “उपसंहार” अध्यायहरूमा समावेश गर्ने निधो गरी राणाशासनको कालखण्डको संक्षिप्त विवेचना गर्न कलम–कापी ठीक पार्दा त आँखा क्यालेण्डरमा गयो । आज त सन् २००४ को अगष्ट ६ तारिख रहेछ । आफ्नो राजनीतिक जीवनमा यो तारिखको धेरै चर्चा एवं टीका–टिप्पणी भएको हुँदा यो तिथिले मलाई झक्झक्याई हाल्यो ।

५९ वर्षअघि यसै दिन अमेरिकी सरकारले जापानको हिरोशिमा नगरमाथि आणविक बम प्रहार गरेको थियो । क्षणभरमा एक लाख निरपराध जापानी नागरिकहरू मृत्युको शिकार भए, लाखौं जना त्यसको घातक असरमा परेर आजीवन अपाङ्ग भए भने त्यस बर्बरताको दुष्प्रभावबाट अझैसम्म पनि मानिसहरूले दुःखकष्ट पाइरहेका छन् । फेरि ९ अगस्तका दिन अमेरिकाले नागासाकी शहरमाथि आणविक बमले हिर्कायो । त्यहाँ पनि उत्तिखेरै ४० हजार मानिस मारिए । अनि अरूहरूको अवस्था आफ्ना हिरोशिमाका बाबुआमा, दाजुभाइ, दिदीबहिनीहरूको जस्तै भयो ।

आगामी वर्ष यस अपराधिक घटनाको “६०औं जयन्ती”मा अमेरिका लगायत विश्व समुदायले त्यसबारे चर्चा, परिचर्चा, विश्लेषण एवं टीका–टिप्पणी गर्नेछन् । “जनता सुसूचित हुने” तथाकथित अधिकारको पालन गर्दै बडेबडेमा संचार–साधनहरूले घरघरै पुराना कुराहरूको पुनःस्मरण गराउनेछन् । तर यस अनावश्यक बम प्रहारबाट अमेरिकाले निर्दोष नागरिक समुदायलाई लक्षित गरेर युद्ध अपराध गरेको स्मरण गराउनचाहिँ निःसन्देश बिर्सनेछन् । अनि, युद्ध विशेषज्ञहरूले नै स्वीकार गरेअनुसार यो अनावश्यक हमला जापानी सैन्यवादमाथि निर्णायक विजय हासिल गरी द्वितीय विश्वयुद्धमा मित्रराष्ट्रहरूले गरेका संकल्प पूरा गर्ने सोभियत लाल सेनाको अग्रगतिलाई रोक्नका लागि नै गरिएको थियो भन्ने कुरा बताउन पनि आवश्यक नठानिएला ।

आफूले कुनै उत्तेजनात्मक कार्य नगरेतापनि आफ्नै देशमाथि नरसंहारकारी बम खसाल्ने अमेरिकी शासकहरूसँग जापानी जनताको क्यै कुनै गुनासो वा विरोध नभए जस्तै गरी जापानी शासकहरूले “अब यस्तो घटना नदोहोरियोस्” भन्नुबाहेक अरू केही गर्न सक्नेछैनन् । बमको असरबाट मरेका र त्यसको दुष्प्रभाव अझसम्म पनि भोगिरहेका जापानीहरूले समुचित क्षतिपूर्ति पनि माग गर्नसक्ने छैनन् किनभने उनीहरूको देशका शासकहरूको कारणबाट जापान युद्धमै फसेको थियो । अब उनीहरूमाथि हमला गर्ने देशको सरकार नै वर्तमान समयमा जापानको “अभिन्न मित्रदेश” र “रणनीतिक नेता” हुन पुगेकोले केही बोल्न–भन्न नपाइने विडम्बना खडा भएकोभयै छ ।

त्यो हमलाको भयाबहता यस्तो बताइनसक्नु थियो कि त्यस घटनालाई हेर्ने अङ्ग्रेज पर्यवेक्षण टोलीका नेता ग्रुप क्याप्टेन लिओनार्ड चेशायरले आफ्नो विक्षोभका कारण फौजी सेवाबाट राजीनामा दिएका रहेछन् । अनि आफू पनि त्यस आणविक बम वर्षाको दुष्प्रभावमा परेका चेशायरले विश्वभरि नै परोपकार सेवा पु¥याउने सद्उद्देश्यले राइडर– चेशायर फाउण्डेशन पनि स्थापना गरेछन् । २०३०–३१ सालतिर नेपाल भ्रमणमा आउँदा नेपाल अपाङ्ग संघका अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको अपाङ्ग पुनस्र्थापना अभियानमा कर्मठताबाट प्रभावित भएर उनले नेपालमा असाध्य रोगले पीडित अपाङ्गहरूको सेवा गर्ने हेतुले अपाङ्ग संघको जोरपाटी परिसरमा “राइडर–नेशायर गृह” स्थापना गर्न सहयोग गरे । यो गृह आज पनि संचालित छ ।

मैले आफ्नो “१९९७ सालदेखि २०१७ साल –– एक अवलोकन”को एक अध्यायमा हिरोशिमामाथि अमेरिकी आणविक बम प्रहारको वर्षगाँठको सन्दर्भमा उपरोक्त कुराहरू लेख्दा त्यही अवधिमा, सन् २००४ मा मूर्धन्य भारतीय साहित्यकार कमलेश्वरको विश्वसाहित्यकै एक अमूल्य रत्नग्रन्थ “कितने पाकिस्तान”को आठौं संस्करण छापिसकिएको रहेछ । त्यसको अन्त्यजसो ३८–३९औं अध्यायमा यसै विषयमा पीडित मृतात्माहरूका क्रन्दनको वर्णन गरिएको छ । पढ्दा पाठकका रौं ठाडा गरिदिने उनको कथावर्णन र यो लेखकको गाउँखाने कथा पनि भन्न नसुहाउने वर्णन आफ्नै ठाउँमा छन् । तर संयोगचाहिँ रोचक नै ठहर्दछ ।

अब त्यही उपन्यासको आधारमा त्यसै विषयमा एउटा रिपोर्ताज यसरी अगाडि बढ्दछ: “मानवताको इतिहासको यो घोर अन्धकार युग थियो । अरूहरूलाई मृत्युको गाँस बनाउनको लागि अमेरिका, जर्मनी, बेलायत र रूसका सारा वैज्ञानिकहरू मृत्युको अन्वेषण गर्नमा जुटेका थिए । साराका सारा भौतिक वैज्ञानिक मृत्युको आर्य देवता यमराज, ग्रीक देवता पोसायडन र पाताल पुरुष हेडीजका भाडाका दास बनेका थिए । तिनीहरूले आफ्ना आत्माहरू बन्धकीमा राखेका थिए । तिनीहरू तानाशाहहरूका हातमा मृत्युका प्रभावकारी औजार सुम्पेर विज्ञानको प्रगतिवादी अवधारणाको तर्क दिँदै आ–आफ्ना मानपदवीहरू र व्यक्तिगत सुविधाहरू कुम्ल्याइरहेका थिए ।”

न्यू मेक्सिकोका अलामा गोर्दोको मरुभूमिमा बिहान ४ बजे सन् १९४५ जुलाइ १६ को दिन कहिल्यै हुन नपर्ने र हुन नहुने काण्ड भयो । अणुबमको पहिलो परीक्षण ! टाढाबाट आफ्नो “त्रिशूल” परियोजनाको परीक्षणको सफलतालाई देखेर रबर्ट ओपनहाइमर पिशाचहरूले गर्ने जस्तै गरी नृत्य गरिरहेको थियो । संस्कृतको जानकार भएको नाताले गर्दा पनि त्यतिबेला उसले गीताबाट एउटा उद्धरण सम्झियो; “म नै मृत्यु हूँ ! र म नै जीवन हूँ ! अब म मृत्यु रूपमा अवतरित भएको छु …पृथ्वीको विध्वंसका लागि म नै मृत्यु हूँ ।”

धरतीमाथि रेडियोधर्मी विषालु छाताले आकाश नै ढाकियो । त्यस बिहानी सूर्यले उदाउन नै मानेनन् र त्यस बिस्फोटको शृङ्खलाबद्ध प्रतिक्रिया तत्काल पातालमा भयो । यता लोस–अलामोसका प्रयोगशालामा अब परमाणु र हाइड्रोजन बमहरूको निर्माण भइरहेको थियो । ओपनहाइमर, जोन मैनली, एडवार्ड टेलर र एनरिको फर्मी सृष्टि–संहारक बमहरू बनाउनमा लाग्दै गए ।

जर्मनी त लगभग युद्ध हारिसकेको थियो । तर युद्धको भूतले जे पनि गर्न – गराउन सक्थ्यो । जर्मन वैज्ञानिक भोन वीजवाकर र वर्नर हाइजनवर्ग हिटलरसँग सहमत छैनन् तर तिनीहरू घोर राष्ट्रवादी भएकाले पनि त्यस्तै जर्मन बम विकसित गर्न ज्यूज्यान लगाइरहेको थिए ।

अनि सोभियत संघ ?
त्यहाँ इगोर कुर्चातौभलाई मृत्यु उत्पादनको काम सुम्पिएको थियो । तिनीहरू पनि वीजवाकर र हाइजनवर्गको प्रगतिबाट तर्सिरहेका थिए । तर प्योत्र कपित्जाले बम विकसित गर्न मानेनन् । त्यस अपराधवापत उनलाई स्तालिनले सात वर्षको कडा सजाय दिए । उनको पासपोर्ट खारेज गरियो र उनी घरभित्रै नजरबन्द गरिए ।बेलायत नि ?

बेलायतमा अधिकांश विदेशी भौतिकशास्त्री कार्यरत थिए । फ्रिश र पील्र्स त छँदैथे, अब फ्रान्सबाट जोलियो क्यूरीका दुईजना सहयोगीहरू आइपुगेका थिए । अष्ट्रियामा जन्मेका भोन हलवान र रूसी कोर्वार्सोव पनि त्यही थिए । त्यसो त कपित्जा जस्तै शरणार्थी रहेका भौतिक वैज्ञानिक म्याक बोर्नले अब बम बनाउने काम छाडी दिए । बमहरूलाई कपित्जा र बोर्न मानव एवं जीवनविरोधी मान्दथे ।

आखिर, जे–जस्तो भए पनि कोही त जिन्दगीको साथ दिइरहेको थियो ।  तर … एकाएक भयानक विस्फोट भयो । पृथ्वी काँपिन्, मानौं कुनै विशाल उल्कापिण्ड पृथ्वीसित जुध्न पुग्यो । सारा संसार सन्त्रस्त भयो । सन् १९४५ को ६ अगस्तका दिन अमेरिकाले हिरोशिमामाथि आणविक हमला ग¥यो । पूरै शहर ध्वस्त ।

डेढ सय माइल पर उभ्भेकी एउटा अन्धी केटी चिच्याई: “मैले बलेको सूर्य देखें ।” सन् १९४५ को ९ अगस्त नागासाकी शहर पनि अमेरिकी हाइड्रोजन बम प्रहारले गर्दा चिन्नै नसकिने गरी ध्वस्त भयो । हजारौं मानिसहरू एकैसाथ मृत्युको गाँसमा परे ।

यो माम्ला त सरासर नृशंसा मानव–हत्याको हो किनभने अमेरिकी राष्ट्रपति ट्रूमनसँग आणविक हमलाको कुनै कारण र औचित्य थिएन ।

मानव सृष्टिको कालदेखि हत्या–हिंसा, दमन, शोषण–अत्याचार आदिका शिकार भएका निर्दोष नर–नारीहरूको मृतात्माले न्याय पाउन भूमण्डलीय जनअदालतको ढोका ढक्ढकाउँदै गुहार मागेको इजलाससामु राष्ट्रपति ट्रूमनलाई उभ्याइयो । यस विभत्सबारे उनीसँग प्रश्न गर्दा उनले पाखण्ड तरिकाले भने; “त्यो हाम्रो सैनिक फैसला थियो ।”

“तिमी त राष्ट्रपति भएको पनि भर्खर नौ दिन नबित्दै तिमीले आणविक आक्रमणको यस्तो अत्यन्त महत्वपूर्ण फैसला कसरी लियौ रु हमलाकै जरुरत थियो भने पनि तिनीहरुलाई जर्मनीको विरुद्ध थियो, होइन र ?” भनेर इजलासले जिकिर गर्दा ट्रूमनको उत्तर यस्तो थियो, “यसका कारण दुईटा थिए । एउटा त, हामी जापानमाथि सोभियत संघको कब्जा हुन दिन चाहँदैनथ्यौं । त्यसैले हामीले ६ अगस्तमा हिरोशिमा बम खसाल्यौं । तर ८ अगस्तमा रूसले जापानविरुद्ध युद्ध घोषणा गर्दै मञ्चुरियामा आक्रमण गरिदिएकोले रूसलाई रोक्न र जापानी सत्तामाथि मृत्युको डरत्रास बढाउँदै हामी आफ्नो बमको ध्वंसात्मक विनाशको अन्दाज पनि लगाउन चाहन्थ्यौं ।”

त्यसका लागि “यस्तो प्रयोग तिमीहरू कुनै सागर, मरुभूमि वा पर्वतीय प्रदेशमा पनि त गर्न सक्तथ्यौ नि !” भनी इजलासको प्रश्नमा हाइड्रोजन बमको निर्माता एडवर्ड टेलरले भन्यो, “हाम्रो सैनिक जत्थालाई मानव मृत्यु – क्षमताका तथ्याङ्क जम्मा गर्नु थियो । म सिद्धान्ततः यस कृत्यको पक्षमा थिइन । म मानिसहरू कीराफट्याङ्ग्रा जस्तै मारिएको देख्न चाहन्नथे । तर रबर्ट ओपनहाइमर र ग्रोभ्जको सामु मेरो क्यै लागेन ।”

इजलास: “राष्ट्रपति ट्रूमन! तिमीलाई पहिलो पटक यी परमघातक बर्बर बमहरूको सूचना दिइँदा तिम्रो आत्मालाई नैतिकताले कतै कुनै गोपेन ?”

ट्रूमनले यताउति हेर्दै जवाफ टारे किनभने उनले आफ्नो राजनीतिक सल्लाहकार स्टिमसन, लोस अलामोस प्रयोगशाला तथा म्यानहटन प्रोजेक्टको तानाशाह ग्रोभ्ज र भौतिकशास्त्री ओपनहाइमरकै दबाबमा आफूले त्यो अपराध गरेका थिए ।
कुरोको चुरो त इजलासको अर्दली महमूद अलीले खेलिदियो । उसले इजलास अध्यक्षलाई भन्यो; “श्रीमान् यी तीन जनाहरू त हिटलर, मुसोलिनी र तोजो जत्तिकै मात्र युद्ध अपराधी होइनन्, त्योभन्दा पनि संगीन मानव–अपराधी हुन् ।”
यो सुन्नेबित्तिकै भूँडे जर्नेल ग्रोभ्जले जङ्गिदै आफ्नो सरकारको पोल खोलिदियो; “हाम्रो बम सैनिक सत्ताका प्रतीक हुन् । यी बमहरूको मारक क्षमतामाथि आश्वस्त हुनका लागि जापानमाथि तिनीहरू चाँडोभन्दा चाँडो प्रयोग हुन सकून् र त्यसमा पनि तिनको प्रयोग हातहतियारहरूका कारखाना र मजदूरहरू घरजम गरेर बसेका इलाका भएका बाक्लो जनसंख्याका बस्तीहरूमाथि हुनु पर्दछ भन्ने हाम्रो धारणा थियो ।”

त्यसपछि इजलासको अर्दलीले ओपनहाइमरले आफ्नो एक मित्रलाई पत्रमा लेखेको कुरा पनि खुलस्त गरिदियो । त्यसमा यी कुरा भनिएका थिए: “मलाई दुई चीज सबभन्दा बढी मन पर्दछन् –– भौतिक विज्ञान र मरुभूमि । मलाई यी दुईको मिलन कहिल्यै हुन सक्दैन भन्ने लाग्दथ्यो । –– तर आज मेरो अघिल्तिर दुबै नै एकाकार भएर विद्यमान छ । चमत्कारी भौतिक विज्ञान र सामुन्ने फैलिएको हिरोशिमाको मरुभूमि ।”

इजलासभित्रै “यी हत्यारा हुन् १ यी मानवजातिका शत्रु हुन् । यी रक्तजीवी राक्षसहरूलाई यही अदालतमा मृत्युदण्ड दिइयोस् ।” हिरोशिमाको चित्कार सुनियो । उसँगै क्षतविक्षत नागासाकी उभ्भेको थियो ।

यत्तिकैमा अदालतका अध्यक्षको आहत परन्तु गम्भीर आवाज घन्कियो: “होइन! होइन ११ धूर्त, दुष्ट, दुर्जन मानव हत्याहरूको लागि मृत्यु त बरदान बन्न पुग्नेछ किनभने यमराजको नर्क, हेडीजको यन्त्रणास्थलले पनि यी अधम आत्मालाई स्वीकार गर्ने छैनन् । सृष्टिको इतिहासमा यो जघन्यतम र कल्पनातीत पापको एउटै मात्र उदाहरण हो । पापीहरूको पापको यो पराकाष्टा हो । यिनीहरू आणविक युगको पुराणकथाको हिंस्रक दैत्यको रूपमा डामिने छन् । यिनका नैतिक आत्माहरूको कुनै अन्तिम विश्राम स्थल हुनेछैन । हत्याबाट यी शोकमुक्त हुने छैनन् । आत्महत्याबाट पनि यिनलाई पश्चाताप प्राप्त हुनेछैन । प्रेत पनि विक्षिप्त हुँदैनन्, तर यिनीहरू विक्षिप्त प्रेतात्माहरूको रूपमा सृष्टिको अन्त्यसम्म टाउको ठोक्दै रहने छन् । यी अधम आत्माहरूको खप्पर ठोकिएको आवाजले मनुष्यको विवेकलाई सधैंभरि घच्घचाइ रहनेछ ।”

यसबीच ब्रह्माण्डको कुनै कुनाबाट फलामे जंजीरहरू बजेका कर्कश ध्वनि आयो अनि सुनियो ग्रीक देवलोकबाट आगो चोरेर मानवजातिलाई दिइने प्रमथ्यूको आवाज: “गिलमगोशलाई सुरक्षित राख ।” “को भन्नु’भो ?” … एउटा आवाज आउँछ ।

“मनुष्यजातिलाई विवेकको शक्ति दिएको भनेर पराशक्तिलाई सराप्दै हिँड्ने बेबोलोनिया, मेसोपोटामिया, सुमेरु, अक्कादी र सिन्धुघाँटी सभ्यताका देवाधिकारीहरू हाल बौलाहासरह भएर जुन हित्ती सभ्यताका मेरा मित्रलाई शत्रु ठानेर लखेटिरहेका छन्, उनै सम्राट गिलगमेश, क्या ! उनी अहिले पनि मानवजातिले भोग्नुपरेको पीडासँग लड्न, यातना सहन जे–जस्तो परे पनि मृत्युलाई पराजित गर्न, मृत्युबाट मुक्तिको औषधि खोेजेर ल्याउन, मानवजातिको प्रतिनिधि भएर हिँडेका छन् । अब त बुझ्यौं,” अट्जेक सभ्यताका मेक्सिकन सम्राट मोंतेजुमा भन्दछन् ।“गिलगमेश कसरी यस अवस्थामा परे ?” फेरि अर्को आवाज सुनिन्छ ।

मोंतेजुमा भन्दछन्; “हिरोशिमा र नागासाकीमाथि आणविक विस्फोटको शृङ्खलाबद्ध प्रतिक्रिया तत्काल पातालमा भयो । पातालको जल उम्लिन थाले । माछाहरू छट्पटाएर मर्न थाले । पाताल सतह मूंगामोतीहरूले बनेका जलपुष्पहरूले सजिएको नीरमहल ध्वस्त भयो । जलकन्याहरूका कोमलकान्त शरीर फोकाफोकीमा बद्लिए । जीवनको औषधि खोज्न गएका गिलगमेश पातालको त्यस उम्लिदो पानीमा उम्लिन लागे । झण्डै प्राण गएको उनको । त्यो देख्नासाथ म पातालमा ओर्लें । अग्नि नदीको किनारमा हामीले तुलसीको एउटा बोट पायौं । त्यसैको श्यामवर्ण पातहरूले गिलगमेशलाई छायाँ दिए, र हामीले उनलाई सम्हाल्यौं । आगोका लहराहरूबाट उनलाई तुलसीका मञ्जरीहरूले बताए । त्यसैकारण उनलाई तुलसीको दाहिने दिशाबाट पातालको अन्तिम तलतिर एउटा जलमार्ग जान्छ, हामीले भन्नु परेको छ । बाटोमा अग्निवन पर्दछन् । त्यसै अग्निवनको एकातिर सूर्यको अस्ताचल छ भने अर्कोतिर स्वप्नहरूको नगरी । त्यसै नगरीमा लुकेर बसेको छ धन्मंतरि शुरुप्पकको जियासुद्दु । त्यही हो जीवन औषधिको अधिकारी र त्यही औषधिले नै मृत्युबाट मुक्ति दिन सक्तछ ।”

यसरी मानवी राक्षसहरूले रचेका मृत्युमाथि जीवनाधिकारको प्रश्नको खोज भइरहेछ –– कमलेश्वरको “कितने पाकिस्तान” उपन्यासमा । अस्तु